२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

बोधि मण्टेश्वरी लुम्बिनीमा टीका र जमरा लगाइ दशैं बिदा

शुक्रवार , कार्तिक ३, २०८०

भैरहवा, ३ कार्तिक ।
नेपाल, धार्मिक विविधताले भरिपूर्ण भएको देश हो । नेपालीहरुले अनेकौं तरिकाले दशैं मनाउने गर्दछन् । पहाडी समुदायले नवरात्रीको पहिलो दिन जमरा राख्ने, सातौं दिन दशैंघरबाट फूलपाती भित्राउने, अष्टमीका दिन आ–आफ्नो परम्पराअनुसार बली दिने, दशौं दिन ठूलाबडाको हातबाट टीका तथा जमरा र आर्शीवाद ग्रहण गरेर मनाउँछन् । 

त्यस्तै मधेशी समुदायले नवरात्री भरी ब्रत बसी पहिलो दिन दुर्गा माताको मूर्ति स्थापना गरी अष्टमीको दिनमा विशेष पूजाका साथ दुर्गा माताको मूर्तिको आँखा खोल्ने गर्छन् ।

सोही क्रममा दशैंको महत्व समेत सिकाउँदै बोधि मण्टेश्वरी लुम्बिनीले शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विद्यालयले शिक्षक, कर्मचारीहरुबाट विद्यार्थीहरुलाई टीका जमरा लगाई शुभकामना आदान–प्रदान गरी दशैं बिदा दिएको हो ।

WhatsApp Image 2023-10-20 at 7.16.05 PM.jpeg
undefined

कार्यक्रममा अभिभावक, शुभचिन्तक तथा विभिन्न सामाजिक संघ–संस्था तथा समाजसेवीहरुलाई पनि निमन्त्रणा गरी विजयादशमी, दीपावली, भाइटीका, छठपर्व तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।

टीकाको दिनमा बिदा हुने भएपछि विद्यालयका प्रिन्सिपल तथा सञ्चालक उपेन्द्र अधिकारीले विद्यार्थी, शिक्षक, कर्मचारीलाई टीका लगाएर आर्शीवाद दिएका छन् । विद्यार्थीहरुलाई चाडपर्वको महत्व र संस्कार बसाल्नका लागि टीका र जमरा लगाउने परम्परा बसालिएको अधिकारीले बताए । त्यस अवसरमा विशेष गरी दशैं तिहारमा पकाईने सेलरोटी तथा अचारबाट सबैलाई स्वागत गरिएको अधिकारीले जानकारी दिए ।

कार्यक्रममा अधिकारीले भने, ‘विजया दशमी, असत्यमाथि सत्यको विजय भएको संकेतका रुपमा समेत मनाइने भएकाले सबै नेपालीहरुको महान चाड भनिएको हो । तसर्थ एकआपसमा मिलेर यो चाड मनाउनुपर्छ । ’

उनले जाति, धर्म, लिंग, पेशाबाट माथि उठेर यस्ता चाडपर्व मनाउनुपर्नेमा जोड दिए । सबैखालका संस्कार, संस्कृति र पर्वले एक–अर्काबीचको एकता कायम हुने र सम्बन्ध प्रगाढ बनाउने प्रिन्सिपल अधिकारीले विश्वास व्यक्त गरे ।

उनले विद्यार्थी तथा बालबालिकाहरुलाई विद्यालयबाटै दशैं पर्वलाई महसुस गराउँदा, बालबालिकाहरुमा खुसीयाली बढ्ने, जोस–जाँगर भरिने, एकआपसमा रमाउने गरेको उनले बताए । 

प्रिन्सिपल अधिकारीले विद्यालयमा शिक्षक, कर्मचारी, विद्यार्थीहरुबीच नेपालमा मनाइने सबै धर्म, जातजातीका चाडपर्व एकआपसमा मिलेर मनाउने, एउटा धर्मको पर्वका बारेमा अर्काेलाई जानकारी गराउने उद्देश्यले विद्यालयमा सबै पर्व मनाउनुपर्नेमा जोड दिने बताए ।

WhatsApp Image 2023-10-20 at 7.16.01 PM.jpeg

सो कार्यक्रममा विद्यालयकी निर्देशक मायादेवी शर्माले नेपालमा मनाइने सबै खालका चाडपर्वले सबैमा खुसीयाली ल्याउने बताइन् । उनले एकआपसमा सुमधुर सम्बन्ध बनाउने भए पनि दशैं, तिहार, छठ तथा नेपाल सम्वत जस्ता पर्व नेपालीहरुको लागि विशेष पर्व रहेको बताइन् ।