
शुक्रवार , कार्तिक ३, २०८०
भैरहवा, ३ कार्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा अनुगमन गरेको छ । विगत एक हप्ता बढीदेखि युसीएमएसमा विद्यार्थीहरुले आन्दोलन थालेपछि अस्पतालको स्वास्थ्य सेवा बन्द हुन पुगेको छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेल, वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेसमेतको टोलीले शुक्रबार अस्पतालको अनुगमन गरेको थियो ।
सिद्धार्थनगर नगरपालिका कार्यालयका अनुसार बिरामीले लगभग भरिने अस्पतालमा अहिले बिरामीको संख्या निकै न्यून रहेको र नयाँ बिरामीको भर्ना पनि नलिएकोले पाइएको छ । जस कारणअस्पतालको ईमर्जेन्सी, मेडिकल वार्ड लगायत सबै वार्ड लगभग खाली छन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले अस्पताल प्रशासन र विद्यार्थीबीचको आन्तरिक विवादका कारण नगरवासी/सर्वसाधारणलाई नै स्वास्थ्य सेवाबाट वञ्चित गर्नु गलत भएको बताए । ‘आन्तरिक विवादले गर्दा हाम्रो नगरबासीले समस्या पाउनुभएन’ उनले भने, ’अस्पताल जस्तो संवेदनशील क्षेत्रको सेवा बन्द गर्नु एकदम गलत हो, तत्काल सुचारु गर्नुपर्छ ।’
त्यस्तै टोलीले अस्पताल प्रशासनसँग छलफल पनि गरेको छ । छलफलमा अस्पतालको सेवा बन्दले नगरबासीका साथै अन्य सर्वसाधारणले दुःख पाएकोले सेवा तत्काल सुचारु गर्न आग्रह गरिएको उनले बताए । विद्यार्थीहरुसगँ वार्ता गरेर वा चिकित्सक अभाव भए नयाँ चिकित्सक नियुक्त गरेर भए पनि स्वास्थ्य सेवा सुचारु गर्न आग्रह गरिएको उनको भनाइ छ ।
नगर उपप्रमुख उमा अधिकारीले कुनै पनि विषयले अस्पतालको स्वास्थ्य सेवा बन्द गर्न नमिल्ने भन्दै तत्काल सेवा सुरु गर्नुपर्ने बताईन् ।
’विद्यार्थीहरुको किन आन्दोलनरत छन् ? उनीहरुको कलेजसँग सम्बन्धित के माग हो ? त्यो तपाईहरुको विषय हो’ छलफलमा उनले भनिन्, ‘अस्पतालको स्वास्थ्य सेवा बन्द गरिएको रहेछ, त्यो ठीक होइन, कसरी हुन्छ तत्काल सेवा सुचारु गर्नुस् । कुनै पनि बिरामीलाई मर्का पर्नु भएन ।’
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले अस्पतालको सेवा बन्द गरिएकोले नगरबासीलाई समस्या परेको र दशैंको मुखमा आएर अस्पतालको सेवा बन्द गर्नु गलत भएको बताए ।
छलफलमा युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पीएसले आफूहरुले आन्दोलनरत विद्यार्थीहरुसगँ पटकपटक छलफल गरे पनि निष्कर्ष ननिस्किएको र छिट्टै पूर्ण रुपमा अस्पतालको सेवा प्रदान गर्नका लागि व्यवस्थापन गरिरहेको बताए ।
नगरपालिकाको टोलीले आन्दोलनरत विद्यार्थीहरुसँग पनि छलफल गरेको र अस्पतालको सेवा प्रदानमा आफूहरुले कुनै अवरोध नगरी शान्तिपूर्ण रुपमा आन्दोलन जारी राखेको बताए ।
युसीएमएसमा आन्दोलनरत विद्यार्थीहरुको समूहले कलेजका प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । विद्यार्थीहरुले कलेज प्रिन्सिपल पाठकले विद्यार्थीको अभिभावकत्वको जिम्मेवारी बहन गर्नुको सट्टा आफ्ना माग लिएर गएका विद्यार्थीलाई उल्टै अपमानजनक व्यवहार गर्ने गरेकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij