
शुक्रवार , कार्तिक ३, २०८०
भैरहवा, ३ कार्तिक ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको उद्वार गरेका छन् । शुक्रबार काठमाडौंबाट बर्दिया जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका दुईजनाको गृहमन्त्री पाण्डेयले उद्वार गरेका हुन् ।
मन्त्री पाण्डेयको सचिवालयका जैनुद्दीन देवानका अनुसार बा ९१ प २२८४ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका दुईजनालाई मन्त्री पाण्डेय चढ्ने गाडीमा लिएर अस्पताल पुर्याइएको हो ।
‘शुक्रबार (आज) मध्यान्ह १२ बजे दाङको धानखोला नजिकै भएको सवारी दुर्घटनामा घाइतेहरुलाई मन्त्रीज्यू चढ्ने लु १ झ ७४९ नम्बरको गाडीमा लिएर उपचारका लागि प्रस्तावित भालुवाङ अस्पतालमा पुर्याइउको छ, ’देवानले भने । घाइतेको उद्दारमा देवानसँगै सवारीचालक ओमकार मुराउ, व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) रमेश यादव र गणेश प्रसाद यादव खटिएका थिए ।
मन्त्री पाण्डेयले ईलाका प्रहरी कार्यालय भालुवाङलाई घाइतेको आवश्यक रेखदेख तथा सहयोग गर्न निर्देशन दिएका छन् । घाइतेको स्वास्थ्य अवस्था हाल सामान्य रहेको गृहमन्त्री पाण्डेयको सचिवालयले जनाएको छ ।
यसअघि पनि मन्त्री पाण्डेयले सवारी दुर्घटनामा परी घाइते भएकालाई आफू चढ्ने गाडीमा लिएर उपचारका लागि अस्पताल पुर्याएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij