
शुक्रवार , कार्तिक ३, २०८०
तिलोत्तमा, ३ कार्तिक ।
नेपालीका महान चाडपर्वहरू आगमनको अवसरमा गुल्मेली सम्पर्क समाज रूपन्देहीले बिहीबार स्वागत, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
जिल्लाको तिलोत्तमा–४ डिङ्गरगरस्थित समाजको मातहत रहेको श्रृङ्गेश्वर धाममा बिजया दशमी, दीपावली, छठ, नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा बोल्दै संघीय सांसद वासुदेव घिमिरेले चाडपर्वले पारिवारिक, सामाजिक र राष्ट्रिय एकताका निम्ति सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले गुल्मेलीहरू आफ्नो जन्मथलो भन्दा बाहिरसमेत एकता, शान्ति, सहकार्यको नमूना बन्दै असल कार्य गर्न सफल भएको बताए ।
समाजले सञ्चालन गर्दै आएका अभियानमा सुरुका दिनदेखि नै आफ्नो महत्त्वपूर्ण सहयोग रहेको भन्दै सांसद् घिमिरेले आगामी दिनमा दिगो हुने गरी संस्थालाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संस्थाका सार्थक अभियानहरूका बारेमा परिचित हुन पाउँदा आफूलाई गौरव लागेको बताए । उनले संस्थाको हितमा आफूले निरन्तर सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै संस्था सञ्चालनका लागि आफ्नो एक महिनाको तलब संस्थालाई प्रदान गर्ने बताए ।
सम्पर्क समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रजिअ बाबुराम गौतम, समाजका सल्लाहकार एवं पूर्व प्रजिअ टीकाराम घिमिरे, समाजका संस्थापक प्रा. डा. जीवलाल सापकोटा, श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, संस्थापक सदस्य एवम् पत्रकार खिमानन्द भट्टराई, सल्लाहकार लोकनाथ उपाध्याय, ज्येष्ठ नागरिक मिलन केन्द्रका उपाध्यक्ष ओमी पुन, वरिष्ठ सर्जन डा.कृष्ण खनाल, सम्पर्क समाजका सिद्धार्थनगर अध्यक्ष केशवराज ज्ञवाली, कवि सरु ज्ञवाली, समाजका उपाध्यक्ष पारसमणि भण्डारी, महासचिव कृष्णप्रसाद पोखरेल लगायतले बोल्दै महान चाडपर्वहरू वडादशैं, तिहार, छठ पर्व र नेपाल सम्वतका अवसरमा मन्तव्य र कविताका माध्यमबाट शुभकामना शुभकामना व्यक्त गरे ।
सो अवसरमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई संस्थाले सम्मान गर्नुका साथै आजीवन सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेको थियो ।
२०६० मा स्थापित सम्पर्क समाजले आफ्नै भवन परिसरमा श्रृृङ्गेश्वर धाम, ज्येष्ठ नागरिक मिलन केन्द्र, छोरी शिक्षा कार्यक्रम, रेसुङ्गा अलौकिक सहकारी संस्थालगायतका संस्था सञ्चालन गरी धामलाई धार्मिक, सामाजिक, शैक्षिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्दै आएको समाजका अध्यक्ष डा. पन्तले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij