२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

युसीएमएस भैरहवाका विद्यार्थी तथा आवासीय डाक्टर आन्दोलनमा, उपचार प्रभावित

बिहिवार , कार्तिक २, २०८०

भैरहवा, २ कार्तिक । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा अध्ययनरत विद्यार्थीहरु विगत १२ दिनदेखि आन्दोलनमा उत्रिएका छन् । 

विद्यार्थीहरुले नयाँ ड्रेस कोडको सट्टा पहिलेको जस्तै हुनुपर्ने, कलेज प्रिन्सिपलले तत्काल राजीनामा दिनुपर्ने, एमएबीबीएस अन्तिम वर्षको रोकिएका कक्षाहरु निरन्तर सुचारु हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेको जनाएका छन् । 

विद्यार्थीको आन्दोलनप्रति विगत ४ दिनदेखि अस्पतालमा कार्यरत ईन्टन तथा आवासीय डाक्टरहरुले पनि ऐक्यवद्धता जनाएका छन् । विद्यार्थी र डाक्टरहरुसहितको आन्दोलनका कारण एकातर्फ अस्पतालमा बिरामीको उपचार प्रभावित बनेको छ भने दशैको मुखमा विद्यार्थीलाई थप निराश बनाएको छ । 

विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका बिद्यार्थी र डाक्टर पछिल्लो ४ दिनदेखि रिले अनसनमा बसेका छन् । शिक्षा सुधारका नाममा आफूहरुलाई अनावश्यक दुख तथा यातना दिइएको विद्यार्थीहरुले गुनासो गरेका छन् । रिले अनसनमा बसेका विद्यार्थी तथा आन्दोलनरत डाक्टरहरुले पत्रकार सम्मेलन गर्दै आफूहरुका माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । 

IMG_2018.JPG

मेडिकल कलेजमा अध्ययनरत इन्टन डाक्टरहरुले आफूहरुमाथि श्रम शोषण समेत भएको गुनासो गरेका छन् । आफूहरुको माउ संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले २४ हजार पारिश्रमिक दिने गरेकोमा युसीएमएसले २४ देखि ३६ घण्टासम्म काम लगाएर जम्मा कर काटेर १० हजार ८ सय ९० पाउने गरेको आन्दोलनरत डा. अशोक पाण्डेले जानकारी दिए । 

अस्पतालले जबजस्ती रुपमा आफुहरुमाथि श्रमशोषण हुने गरेको बताउँदै पारिश्रमिकमा एकरुपता ल्याउन आग्रह गरेका छन् । आन्दोनरत विद्यार्थी, इन्टन तथा आवासीय चिकित्सकहरुले आफूहरुले राखेका मागलाई वार्ताबाट सम्बोधन गर्न आग्रह गरिएको बताए । उनीहरुले आफूहरुका मागका विषयमा जिल्ला प्रशासन कार्यालयमा एकपटक बार्तामा बसेको भए पनि बीचमै छाडिएको र अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकेको बताए ।

युसीएमएसका जनसम्पर्क अधिकृत सुशील गुरुङले विद्यार्थीका मागप्रति अस्पताल प्रशासन सकारात्मक रहेको बताए । उनले अस्पताल प्रशासन र विद्यार्थीबीच विभिन्न चरणमा छलफल भएको बताए । उनले चांडो भन्दा चांडो सहमति हुने विश्वास व्यक्त गरे ।