२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

एमालेद्वारा गाजामा अस्पतालमाथि भएको आक्रमणको निन्दा र भर्त्सना

बिहिवार , कार्तिक २, २०८०

काठमाडौं, २ कात्तिक । 
नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा/आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले स्तब्ध भएको बताए । 

उनले उक्त आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको बताउँदै एमाले शान्तिको पक्षमा रहेको बताए । ‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिंगो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको संख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ । हामी यस आक्रमणको  कडा शब्दमा निन्दा र भर्त्सना  गर्दछौँ,’ अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) शान्तिको पक्षमा छ । जुनसुकै खाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्दछ । निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानून, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लंघन भएको छ ।’