
मंगलवार , आश्विन ३०, २०८०
काठमाडौ, ३० असोज ।
भोलिका कर्णधार आजका बालबालिकाको मुद्दाहरु मिडियामा आउन नसकेको भन्दै एक कार्यक्रमका सहभागीहरुले दुःख व्यक्त गरेका छन् । चाइल्ड नेपाल नामक गैरसरकारी संस्थाले राष्टिय सञ्चारमाध्यम (डेस्क इडिटर, इडिटर) सँंग गरेको अन्तरक्रियामा उनीहरुले कुल समाचारको झण्डै चारदेखि ६ प्रतिशत समाचार मात्रै बालबालिकाहरुको मुद्दामा रहेको बताए । यसमा पनि अधिकांश समाचार औपचारिक कार्यक्रमको मात्रै भएको भन्दै उनीहरुले बालबालिका सम्बन्धी खोज, अनुसन्धानमूलक समाचार प्रकाशित, प्रशारित गर्नुपर्नेमा जोड दिए । साथै उनीहरुले ससाना बालबालिकाहरुको मुद्दामा सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा डा. कुन्दन अर्यालले आएका चारदेखि ६ प्रतिशत बालबालिका सम्बन्धीको समाचारमा पनि ७८ प्रतिशत समाचार बालबालिकामाथिको दुव्र्यवहारका समाचारहरु रहने गरेको तथ्यांक प्रस्तुत गरे । यसले भोलिका बालबालिकाहरुलाई नकारात्मक सन्देश प्रवाह भइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापाले बालिका बलात्कृत भनेर छापिने समाचारमा पीडकको ठेगाना खोलिदिएपछि पीडित पनि त्यही गाउँकै नै हुने भएर नाम नखुलाए पनि पीडित थप पीडित हुने सुनाए । यसकारण बालबालिका सम्बन्धीका समाचारको लेखन, सम्पादनमा विशेष गाम्भीर्यता अपाउनुपर्ने आवश्यकता उनले औंल्याए ।
कार्यक्रममा सम्पादक थापा र डा. अर्यालले दुईवटा प्रस्तुतीहरु दिएका थिए । थापाले बालबालिकाबारेका मुद्दामा हाल चलिरहेको सम्पादन र रिर्पाेटिङको संवेदनशीलता विषयमा प्रस्तुति दिएका थिए । उनको प्रस्तुति माथि डा. अर्यालले टिप्पणी गरेका थिए ।
कार्यक्रममा आयोजक संस्थाका निर्देशक मोहन दंगाल, पत्रकारहरु जनक नेपाल, जुनारबाबु बस्नेत, गंगा विसी, प्रकाश सिलवाल, कृष्ण किसी, दीपेन्द्र श्रेष्ठलगायतका आ–आफना अनुभवहरु सुनाएका थिए । कार्यक्रममा विभिन्न मिडियाका डेस्क इडिटर तथा इडिटरहरु सहभागी रहेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij