
मंगलवार , आश्विन ३०, २०८०
भैरहवा, ३० असोज ।
‘भूतपूर्व विद्यार्थी समाज’ पक्लिहवा माध्यमिक विद्यालय सिद्धार्थनगर–१, रुपन्देहीको आयोजनामा वडादशै, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा डस्टबीन हस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष भिम बहादुर थापाको सभापतित्व तथा पक्लिहवा माविका पूर्व प्रधानाध्यापक लेखा थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि थापाले विभिन्न समयमा विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु आज आएर पूर्व विद्यार्थीको रुपमा विद्यालयलाई माया गरी गरेका रचनात्मक क्रियाकलापहरु सराहनीय रहेको बताए । उनले पूर्व विद्यार्थीहरुले भोलिका दिनमा पनि विद्यालयको पूर्वाधार तथा शैक्षिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि तथा पक्लिहवा मावि व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी सुशील गुरुङ्ग, विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतले भूतपूर्व विद्यार्थी समाजको महत्व तथा यसको स्थापना पश्चात् सम्पन्न गरेका र भविष्यमा गर्न सक्ने कार्यहरुको बारेमा आफ्ना धारणा राखेका थिए ।
सो कार्यक्रममा विद्यार्थी समाजले बाल विकासदेखि कक्षा १० सम्म प्रत्येक कक्षा–कोठामा तथा शौचालयहरुका लागि करिब २० हजार बरावरको डस्टबीन हस्तातरण गरेको थियो ।
समाजका उपाध्यक्ष राजेन्द्र खड्काको स्वागत तथा सचिव माधव शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजसेवी कृष्ण खनाल, लेखनाथ भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्य सलुजा रामदाम, दिलु थापा, शारदा श्रेष्ठ, मिनु गुरुङ्ग, शिक्षकशिक्षिका लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij