२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

विपन्न परिवारको सहारा बन्दै लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक स्वास्थ्य ईकाई 

मंगलवार , आश्विन ३०, २०८०

बुटवल, ३० असोज । 
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गर्दै आएको ‘सामाजिक स्वास्थ्य ईकाइ’ गरीब तथा विपन्न परिवारको साथ र भरोसा बनेको छ । आर्थिक रुपले विपन्न, वृद्धवृद्धा तथा सामाजिक रुपमा पिछडिएको वर्गलाई निःशुल्क तथा छुट दरमा स्वास्थ्य उपचार उपलब्ध गराउँदै आएको स्वास्थ्य ईकाइमार्फत अस्पतालले पछिल्लो आर्थिक वर्षमा मात्रै ३ करोड बढीको स्वास्थ्य उपचार तथा सेवा उपलब्ध गराउन सफल भएको छ । 

नमूना एकीकृत विकास परिषद् रुपन्देही (नमूना) को सहजीकरणमा अस्पतालमा सामाजिक स्वास्थ्य ईकाईमार्फत १ वर्षको अवधिमा मात्रै ३ करोड १७ लाख ३ सय ६९ रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको सामाजिक ईकाइ प्रमुख नेत्रप्रसाद आचार्यले जानकारी दिए । 

पछिल्लो आर्थिक वर्ष २०७९/८० मा ७ हजार ६ सय ९७ जनाले सेवा लिएका छन् । त्यसअघिको वर्ष यो संख्या ६ हजार ९८० रहेको थियो । गत आर्थिक वर्षमा १ हजार ८ सय ७६ जना गरिव, ५ हजार ३ सय ९९ जेष्ठ नागरिक, १२६ अपांगता भएका व्यक्ति, १८९ जना बेसहारा, ६५ जना कुपोषित बालबालिका, ७ जना महिला स्वास्थ्य स्वयंसेविका, ३४ जना थुनुवा तथा एक लैंगिक हिंसा पीडितले सेवा लिएको उनले जानकारी दिए । 

अस्पताल विकास समितिले आफ्नै खर्चमा विपन्न, गरीब् तथा लक्षित वर्गहरुलाई सामाजिक ईकाइबाट सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष अजयमान श्रेष्ठले बताए । नेपाल सरकारले सो कार्यक्रमका लागि गत वर्ष १ करोड मात्रै विनियोजन गरेको थियो भने यो वर्ष ९० लाख मात्रै विनियोजन गरेको छ । यस कार्यक्रमअन्तरगत सेवाग्राहीको संख्या बढ्दै जाने तर सरकारले उपलब्ध गराउने अनुदान रकम घट्दै जाँदा अस्पताल विकास समितिको सीमित श्रोत र साधनले कार्यक्रमलाई थप प्रभावकारी बनाउन नसकिएको उनले गुनासो गरे । अस्पतालमा यो कार्यक्रम अन्तरगत सामान्य उपचार खर्चमा मात्रै होइन विभिन्न जटिल प्रकारका शल्यक्रिया तथा औषधी खर्च उपलब्ध गराउने गरेको श्रेष्ठले बताए ।

गत आर्थिक वर्ष ३ हजार ५ सय ५९ महिला तथा ४ हजार १ सय ३८ जना पुरुषलाई स्वास्थ्य सेवा उपलब्ध गराएको सामाजिक ईकाइले जाँच पडताल तथा शल्यक्रियाका लागि १ करोड ३८ लाख ४९ हजार ७२३ रुपैयाँ खर्च गरेको छ भने औषधी खर्च बापत १ करोड २६ लाख १०१ रुपैयाँ खर्च गरेको तथ्यांक छ । 

यसबाहेक दमजन्य बिरामीका लागि लुम्बिनी प्रदेश सकारले उपलब्ध गराउँदै आएको ५० हजार अनुदान कार्यक्रमबाट ३ लाख ७ हजार ७ सय ८ रुपैयाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध गराएको छ । उक्त कार्यक्रममा समेत अस्पताल विकास समितिले खर्च व्यवस्थापन गर्नुपरेको छ । त्यसै गरी सिकलशेल एनिमियाका बिरामीहरुका लागि १ लाख ५७ हजार ३ सय ६९ रुपैयाँ बराबरको औषधी उपचार खर्च उपलब्ध गराइएको तथ्यांकमा उल्लेख छ । हाल अस्पतालमा ६८ जना सिकलसेलका बिरामीहरुले नियमित चेकजाँच तथा उपचार सेवा लिइरहेको अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा. सुदर्शन थापाले जानकारी दिए । 

अस्पतालले विपन्नहरुको उपचार मात्र होइन व्यसहाराहरुको व्यवस्थापनका लागि समेत काम गर्दै आएको छ । बुटवलको मानव सेवा आश्रमसँग सहकार्य गरी बेवारिसे अवस्थामा रहेका नागरिकलाई औषधि उपचारपछि आश्रममा बासको लागि व्यवस्था मिलाउने गरिएको छ । अस्पतालले पछिल्लो आर्थिक वर्षमा मात्रै २२ जना बेसहारा नागरिकहरुलाई उपचारपछि आश्रमको जिम्मा लगाएको थियो । उपचार सेवालाई सहज बनाउनका लागि गरबी तथा विपन्न परिवारलाई उपचार मात्र होइन बिरामी कुरुवालाई खाना नास्ता समेत उपलब्ध गराउने गरिएको सामाजिक ईकाका प्रमुख आचार्यले बताए । विपन्न परिवारका विरामीले उपचार गराउँदाको अवधिसम्म उनीहरुलाई कुरेर बस्ने आफन्तहरुलाई दैनिक ५० रुपैयाँ बराबरको खाजा खर्च तथा खाना उपलब्ध गराउने गरिएको आचार्यले बताए । अस्पतालले आर्थिक वर्ष २०७९/८० मा मात्रै उपचारमा आउने विपन्न परिवारका बिरामी कुरुवालाई खाना तथा खाजा बापत १ लाख ७५ हजार ३५० रुपैयाँ खर्च गरेको थियो । 

अस्पतालमा ६० देखि ८० वर्षसम्मका जेष्ठ नागरिकर्लाई ५० प्रतिशत सम्म सहुलियत रहेको छ भने ८० वर्ष माथिका जेष्ठ नागरिकलाई पूर्ण निःशुल्क उपचार सेवा उपलब्ध रहेको छ । ईकाइमार्फत सेवा प्राप्त गर्नका लागि सम्बन्धित पालिकाको सिफारिस, लक्षित समूहको परिचय पत्र, नागरिकता लगायतको आवश्यक कागजपत्रहरु पेश गर्नुपर्ने नियम रहेको छ ।

अस्पतालले लक्षित समूहलाई तीनप्रकारको सेवा प्रवाह गर्दै आएको छ । जसमा ओपिडी सेवामा २ हजार ५ सयसम्मको जाँच उपचार सेवा निःशुल्क, आकस्मिक (इमरजेन्सी) सेवातर्फ ५ हजार सम्मको सेवा उपचार निःशुल्क गर्दै आएको छ भने अपरेशन तथा भर्ना भएका बिरामीहरुलाई १० हजारसम्म निःशुल्क सेवा प्रदान गर्ने गरेको छ । 

सेवा ईकाईले २४ सै घण्टा नै सेवा दिदै आएको छ । सरकारले लक्षित समूहलाई छिटो छरितो र निःशुल्क सेवा दिने उद्देश्यका साथ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलसहित देशभरका ८८ वटा अस्पतालमा ईकाई सञ्चालन गरेको छ ।