२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

प्रवासी पत्रकारिता नेपालीको हितमा छ : अध्यक्ष भण्डारी

आइतवार , आश्विन २८, २०८०

बुटवल, २८ असोज । 
पत्रकारिता प्रविधिको विकाससँगै पछिल्लो समय गुणात्मक रुपमा विकसित हुदै गएको छ । राज्यको चौथो अंग मानिने पत्रकारिता निष्ठापूर्वक कलम चलाउनुपर्ने पेशा हो समाजलाई सुसुचित र सन्देश प्रवाह गर्ने माध्यम नै पत्रकारिता जगत हो । स्वच्छ र स्वतन्त्र रुपमा गरिने पत्रकारिताले बेथितिलाई बाहिर ल्याएर समस्यालाई समाधान गर्ने गर्दछ । 

पछिल्लो समय पत्रकारितामा केही विचलनको स्थिति आएको देखिन्छ । यसलाई  पत्रकारिता आचारसंहिता बाहिर जान नदिन पत्रकारहरुलाई क्षमता अभिवृद्धि तालिम आवश्यकता रहेको नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले बताए । आइतवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलमा बोल्दै नेजाका नवनिर्वाचित अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् । 

अध्यक्ष भण्डारीले रुपन्देहीमा रहेर लामो समय पत्रकारिताका गरेका भण्डारी हाल अमेरिकाको भूमिबाट पनि नेपाली पत्रकारिताको मायालाई अंगाल्दै अमेरिका र नेपालको सम्बन्धलाई अझ नजिक बढाउने गरी कलम चलाउँदै आएको भन्दै आईतवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीले उनलाई सम्मान गरेका हुन् ।

सम्मान ग्रहण गर्दै अध्यक्ष भण्डारीले प्रवासमा रहेर नेपाली भाषासहितको पत्रकारितालाई गुणात्मक रुपमा अघि बढाउने गरी निरन्तर कलम चलाउदै आएको बताए । उनले तेस्रो मुलुकमा पत्रकारिता गर्न सोचे जस्तो सहज नभएको भन्दै प्रवासी नेपालीहरुको उत्थानको लागि आफूहरु लागिपरेको जनाए । अध्यक्ष भण्डारीले नेजाले ग्रामीणस्तरमा रहेर पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन स्वरुप राशीसहितको सम्मान गर्दै आएको बताए । उनले रिपोर्टर्स क्लव नेपालले देश र समाजको लागि उल्लेखनीय कार्य गरेको भन्दै आगामी दिनमा थप प्रभावकारिताका साथ अगाडि बढ्न आग्रह गरे ।  

कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल अमेरिका शाखाका अध्यक्ष किसन रेग्मीले क्लब छोटो समयमा नै प्रवासमा रहेका नेपालीहरुको दुख सुखको साथी बन्न पुगेको बताए । उनले अमेरिकामा रहेका विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गर्दै नेपाली र नेपालको हितमा काम गर्दै आएको दावी गरे । अध्यक्ष रेग्मीले नेपालमा रिपोर्टर्स क्लबको लामो इतिहासलाई आफूहरुले १ वर्षमा नै पूरा गर्न नसक्ने तर क्लबको औचित्य र गरिमालाई प्रवासी नेपालीहरु माझ कमी हुन नदिने जिकिर गरे ।