२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

उद्योग सञ्चालनको अनुभवलाई संघमार्फत समृद्धिसँग जोडन मेरो उम्मेदवारी : निर्मित कसजु

आइतवार , आश्विन २१, २०८०

बुटवल, २१ असोज । 
मुलुकमा व्याप्त आर्थिक संकटले युवामा चरम नैराश्यता पैदा भइरहेको छ । कोरोना महामारीले विश्वको अर्थतन्त्र प्रभावित हुँदा नेपाल जस्तो अल्पविकसित मुलुकले त्यसको असर झन बढी खेप्नु परिरहेको छ । मुलुकमा व्याप्त बेरोजगारी, आर्थिक संकट तथा राजनीतिक अस्थिरताले युवाहरुप्रति विदेश मोह बढी रहेका बेला बुटवलका युवा व्यवसायी निर्मित भने देशमै बस्ने माहोल सिर्जनाका लागि उद्योग संचालन गर्दै विदेशमा जाँदै गरेको युवाको लर्को रोक्ने कर्ममा जुटेका छन् ।

बुटवललाई औद्योगिक शहरको रुपमा विकास गर्नका लागि निजी क्षेत्रबाट महत्वपूर्ण योगदान गर्नेमध्ये कसजु परिवार पनि हो । हजुरबुवा र बुवापछि तेस्रो पुस्ताको रुपमा उदायका निर्मितले देशमै बसेर मुलुकको आर्थिक संकटसँग लड्न र युवाहरुलाई पलायनबाट रोक्ने प्रयास स्वरुप आफ्नो पुख्र्यौली पेशलाई परिमार्जन गर्दै सफलताका साथ अगाडि बढाएका छन् । कसजु परिवारको बुटवलमा छुट्टै पहिचान छ । व्यवसायिक घरानाको यो परिवारले थुप्रै असफलता र परिस्थितीहरुको सामना गर्दै औद्योगिक क्षेत्रमा निरन्तर अघि बढिरहेको छ । विगतको विरासतका कारण पनि संकटका बेला सबै एक भएर सामना गर्नुपर्छ भन्ने मान्यताका आधारमा निर्मितले अनवरत उद्योगमा नयाँ नयाँ प्रविधिहरु भित्राइरहेका छन् ।

व्यापारको केन्द्र बटौली, भट्टी पसलका रुपमा ख्याती कमाएको खस्यौलीको जति चर्चा छ त्यति चर्चा बटौलीलाई आधुनिक बुटवल हुँदै औद्योगिक बुटवल बनाउने पात्रहरुको भने कमै चर्चा हुने गरेको छ । विशेष गरी पारी बुटवलबाट नगरपालिका साविक खस्यौली हालको आधुनिक बुटवलमा सरेपछि नै बुटवल औद्योगिक शहरका रुपमा चिनिन थालेको हो । बस्ती बस्दाको अवस्थामा भारतबाट लामपाते सुर्ति गाडामा ल्याउने, नुन मट्टीतेल, कपडाका हातबजारका रुपमा परिचय जमाइरहेको बटौली अहिले नेपालकै मध्यभागको औद्योगिक शहरका रुपमा परिचित छ । घ्यू खारेर बेच्ने उद्योगबाट सुरु भएको बुटवलको उद्योग यात्रा अहिले राष्ट्र र अन्तर्राष्ट्रियस्तरसम्म फैलिन सफल भएको छ । बुटवललाई उद्योगीहरुको शहरकारुपमा चिनाउने उद्योगीहरु मध्य एउटा नाम थियो उनै युवा व्यवसायी निर्मितका हजुर बुवा निर्मल प्रसाद कसजु । कसजु आधुनिक बुटवल बन्दै गर्दा बुटवलको उद्योग जन्माउने उद्योगीमा पर्छन।
बुटवलको इतिहाससँगै जोडिएको कसजु परिवार

कुनै बेला बुटवलमा सिजनल व्यापार गर्ने कसजु परिवार यतिबेला चर्चित उद्योगी परिवारका रुपमा चिनिन्छन् । रिडीबाट बुटवल होलसेल किराना पसल चलाउने उद्देश्यले बटौली झरेका निर्मल कसजु बिस्तारै उद्योगतर्फ आकर्षित भए । तत्कालिन बुटवलमा उनी निक्कै सफल व्यापारीमा गनिन थाले । उनले बुटवलमा नै पहिलो मुद्रण उद्योग सञ्चालन गरेकाले उनी बुटवलका उद्योगका संस्थापक पनि हुन भन्न सकिन्छ । नेपालमा राणा विरोधी आन्दोलन चलिरहँदा निर्मलले बटौलीमा प्रिन्टिङ प्रेस चलाए । बुटवल उपमहानगरपालिका–१ मा स्थापना गरेको निर्मल प्रिन्टिङ प्रेसले धेरै राजनीतिक आन्दोलनमा सहयोग गर्यो । वि.सं. २००९ बाट २०३७ सालसम्म प्रेस सञ्चालनमा आयो । मुद्रण उद्योगबाट हौसिएका निर्मलले बिस्तारै अर्को उद्योगका रुपमा घरेलु साडी कपडा उत्पादनमा लागे । उद्योगमा रस बसेका उनी त्यतिमा रोकिएनन् । लगातार उद्योगको बिस्तार गर्ने क्रममा उनले बुटवलमा पहिलो हवाई चप्पल यतिको पनि उत्पादन सुरु गरे । यती चप्पलले कुनै बेला नेपालमा हंगामा मच्चाएको थियो । चप्पल उद्योग सुरुसुुरुमा राम्रो बजार लिए पनि विस्तारै चाईनिज बजारले चप्पलको बजारलाई सुकायो ।

बजार उद्योगमा वैदेशिक लगानी खुला भएपछि प्रतिष्पर्धा बढ्न थाल्यो र उद्योगीहरुलाई चुनौती पनि थपिँदै गयो । निर्मल र उनका परिवार जस्तो सुकै चुनौतीबाट पनि पछि हटेनन् । प्रतिष्पर्धाकै बीचमा कसजु परिवारले प्रेसरकुकुर उद्योग र ज्ञानी पानीको उद्योग पनि सञ्चालन गरे । तर देशमा चलेको अस्थिर राजनीतिका कारण एकपछि अर्को उद्योग बन्द हुँदै गए । निर्मलले सुरु गरेको उद्योग सञ्चालनको रफ्तारलाई उनका सन्ततीहरुले पनि निरन्तरता दिँदै गइरहेका छन् । नेपालको पहिलो प्रेसकुकर समेत उत्पादन गरेको कसजु परिवारले द्वन्द्वकालको कठिन समयमा बन्द गर्नुपरेको बताउँछन् ।

पानी उद्योग सफल हुन विभिन्न अवरोध आए पनि कसजु परिवारले उद्योगको यात्रा बन्द गरेनन् । द्वन्द्वको चर्को प्रभावका बीच कसजु परिवारले विकल्प खोज्ने क्रममा खानेपानी टंकी रोजे । नेपाली बजारमा एकलौटी रुपमा काठमाडौं उत्पादित पानी टंकीले बजार लिएरहेको बेला मोफसलबाट उनले पानी ट्यांकी उद्योग खोले । ज्ञानी पोलिपाईप इण्डष्ट्रिज दर्ता गरे । २०५८ सालमा नेपालको पहिलो चम्किलो पानी टंकी भन्दै नारायणी वारी कसजु परिवारले पश्चिम नेपालमा टंकी उद्योगको सुरुवात गरेका थिए । चम्किलो पानी टंकीबाट सुरु भएको कसजु परिवारको टंकी यात्रा अहिले ज्ञानी पोलि टंकीका रुपमा निरन्तर जारी रहेको छ ।

उद्योगबाट छिटो नाफा कमाउन भन्दा रोजगारी सृजना गरेर आर्थिक विकास तर्फ आफूहरुको ध्यान केन्द्रीत रहेको युवा उद्यमी निर्मित बताउँछन् ।

हजुरबुवा निर्मलले थालेको अभियानलाई निरन्तरता दिँदै स्वदेशी उद्योगमार्फत आर्थिक समृद्धि र युवा रोजगार सृजना जोडिएका बुवा रञ्जनलाई साथ दिन तेस्रो पुस्ताको रुपमा उदायका निर्मितले उद्योगका सम्पूर्ण जिम्मेवारी लिएर काम गरेको करिब डेढ दशक भइसक्यो ।

उद्योगसँगै हजुर बुवा सामाजिक संस्थाहरुमा सक्रिय हुन थालेसँगै उद्योग व्यवसायको विरासत बुवाले धानिरहेका बेला साथ दिनका अस्ट्रेलिया बसाई त्यागेर स्वदेश फर्किएका थिए निर्मित ।
ज्ञानीका पोलिटंकीसहित एचडीपी पाईप, एचडी पाईप, गार्डेन पाईप र पोलिमर उत्पादन गर्दै आएकोका निर्मितले उद्योगको स्तरउन्नति गर्दै सिपिभिसि पिभिसि पाईपहरुको पनि उत्पादन थालेका छन् । नारायणी पश्चिममा ज्ञानी ब्राण्डको लोकप्रियतालाई कायम राख्न सिपिभिसि पिभिसि पाईपहरुको उत्पादन थालिएको उनले बताए ।

कसजुको उद्योगमा जर्मन कोलाब्रेसनमा भारतमा उत्पादन भएको काभ्राको मेशिन प्रयोग भएको कसजुले बताए । बाजेले थालेको अभियानलाई निरन्तरता दिँदै पछिल्लो समय ज्ञानीको बजार निर्मितले सम्हाल्न थालेपछि बुटवलको ईतिहासँग यो परिवारको साइनो थप बलियो बनेको छ । उनको उद्योगमा हाल दैनिक ७० हजार लिटर बराबरको टंकी उत्पादन हुँदै आएको छ । टंकीको कच्चा पदार्थ साउदी अरब र भारतबाट समेत आउँछ । त्यसै गरी पिभिसि सिपिभिसिको प्रतिघण्टा २ सय किलो पिभिसि र सिपिभिसि डेढ सय किलो उत्पादन हुँदै आएको छ । जसको कच्चा पदार्थ कोरिया, जापान, थाईलैण्डबाट आउँछ ।

ज्ञानी उद्योगले प्रत्यक्ष अप्रत्यक्ष गरी ५० जना तथा प्रतिष्ठानमा रहेको अन्य उद्योगमा समेत गरि साढे करिब ३ सय नेपालीलाई रोजगारी प्रदान गरेको छ । कोरोना महामारी अघिसम्म उद्योगमा रोजगार प्राप्त गर्नेको सङ्ख्या योभन्दा बढी रहेको कसजु बताउँछन् । सामान्यतया नेपालका उद्योगहरुमा विदेशबाट दक्ष जनशक्ति मगाएर उद्योग चलाउने गरेपनि ज्ञानी प्रतिष्ठान भित्र विदेशी श्रमिक छैनन् । सबै नेपालीले नै रोजगारी पाएका छन् ।

उद्योगमैत्री नीतिको खाँचो

बुटवल उद्योग वाणिज्य संघको २ कार्यकाल उद्योग सदस्य भएर काम गरेका निर्मित कसजु वर्तमान उद्योग नीतिसँग सन्तुष्ट भने छैनन् । सरकारले यदी नीजि क्षेत्रलाई साथ लिएर अघि नबढ्ने हो भने आर्थिक समृद्धि हासिल गर्न गाह्रो हुने बताउँदै उनले सोही अनुसारको नीति निर्माण गर्नुपर्नेमा जोड दिन्छन् । सरकार समक्ष आफ्ना मुद्दाहरु पुर्याउने र समाधानको बाटो खोज्नका लागि उद्योग वाणिज्य संघको नेतृत्वले समेत पहल गर्नुपर्ने उनी बताउँछन् ।

बुटवलमा यही असोज १९ गतेदेखि सुरु भएको ७० औं वार्षिक साधारणसभा तथा २५ औं अधिवेशनमा तेस्रो कार्यकालका लागि उद्योग तर्फको सदस्यमा उम्मेदवारी दिएका उनले उद्योगसँग सम्बन्धित मुद्दाहरुलाई निरन्तर उठाउँदै जाने अठोट गरे । उद्योगीको मात्र नभई सिंगो बुटवलसँग आफ्नो परिवारको समेत विरासत जोडिएको हुँदा यहाँको विकासका लागि पनि आफ्नो पहल सधै जारी रहने उनी बताउँछन् । बुटवललाई पहिलेकै अवस्थामा गुल्जार र आर्थिक रुपमा चलायमान बनाउनका व्यावसायीहरुले फरक ढँगले अघि बढ्नुपर्ने उनको बुझाई छ ।

आगामी ३ वर्षे कार्यकालका लागि दिनेश प्रसाद श्रेष्ठ प्यानलबाट उम्मेदवारी दिएका उनले लामो समय उद्योगको क्षेत्रका काम गरेको अनुभवका आधारमा त्यस क्षेत्रका समस्याबारे जानकार रहेको हुँदा नेतृत्वमा पुगेर पहल गर्न सहज हुने बताउँछन् ।