मंगलवार, मंसिर १९ गते २०८०

‘भगवान’ बनाउनमा व्यस्त लालु केवट

‘भगवान’ बनाउनमा व्यस्त लालु केवट

images
images

सिता काफ्ले

११, आश्विन २०८०
  • 985
    SHARES
  • ‘भगवान’  बनाउनमा व्यस्त लालु केवट

    भैरहवा, ११ असोज । भगवान अदृष्य छन् । भगवानलाई कसैले देखेका छैनन्, तर भगवानप्रतिको आस्था, भगवानप्रतिको श्रद्धा र परिकल्पना भने सबैले गरेका हुन्छन् । तिनै परिकल्पनालाई एक प्रकारको आकार दिएर भगवानका तस्वीर, मूर्ति तयार पारिन्छ ।

    तीनै भगवानका तस्वीर र मूर्तिलाई साक्षात भगवान मानी पूजापाठ गर्ने गरिएको छ । मानिसलाई संस्कार, संस्कृति र धर्मले बांधेको हुन्छ । मानिस धर्म, कर्म र भाग्यमा विश्वास पनि राख्दछन् ।

    images
    images

    मानिसले पुज्ने भगवानका रुप सहितको मूर्ति बनाउन यतिबेला रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित रेहराका लालु केवट व्यस्त छन् । उनी अहिले ओमसतिया गाउँपालिका–१ ठुटीपीपलमा भगवानका बिभिन्न रुपमा मूर्ति बनाउनमा व्यस्त छन् । उनलाई अहिले मूर्ति बनाउनेबाहेकका अन्य कामबारे कुुनै चासो र फुर्सन नै छैन् । कर्ममा विश्वास राख्ने केवट कर्मको फल पाउने उद्देश्य अनुरुप दिनरात मूर्ति कुद्ने काममा व्यस्त छन् ।

    IMG_0406.JPG

     

    जब साउन लाग्छ, लालुलाई दशै लाग्न सुरु हुन्छ । असारको रोपाई सकाएपछि लालुको दिनचर्यामा परिवर्तन आउँछ । दशैमा राखिने नव दुर्गा भवानीको मुर्ति बनाउने काममा उनी तल्लीन हुन्छन् । 

    वर्षेनी उनले ३ देखि ७ लाखसम्मको मूर्तिहरु बेच्ने गरेको बताउछन् । उनले यसरी भगवानको मूर्ति बनाएर बेच्न लागेको ५ वर्ष पुगेको बताए । हरेक वर्ष आफुले बनाएको मूर्तिको माग बढ्दै गएपछि उनलाई थप उर्जा मिलेको बताउँछन् । पहिलो वर्ष लालुले एउटा सेट मात्र मूर्ति बनाए । त्यो गाउँमै पूजा गर्न राखे, गाउँमा उनले बनाएको मूर्तिको राम्रै प्रचार भयो । त्यसपछि अर्को वर्षको दशैमा लालुले १० सेट मूर्ति बनाएर बेच्ने योजना बमोजिम मूर्ति बनाउन कस्सीए । उनले तयार गरेका १० वटा मूर्ति पनि सहजै विक्री भयो । आम्दानी पनि राम्रै भयो । 

    प्रत्येक वर्ष आफुले बनाएका मूर्तिले राम्रोसँग बनार पाएपछि आफूलाई थप हौसला मिलेको लालुको भनाइ छ । त्यही हौसलाअनुरुप प्रत्येक वर्षको दशैका लागि आवश्यक पर्ने मूर्ति बनाउन लागेको उनको भनाइ छ । 

    IMG_0408  1.JPG

    उनले यो वर्ष १९ सेट मूर्तिहरु बनाएका छन् । एक सेट मूर्तिमा दुर्गा माता, सिंह, महिसासुर, गणेश भगवान, कार्तिके, लक्ष्मी, सरस्वती भगवान हुने गर्दछ । मूर्ति तयार पार्न खोला तथा पोखरीको लसाइलो माटो, पराल, बास, सुथरीको रस्सी जस्ता सामाग्रीहरुको प्रयोग गरेर तयार पारिने उनको भनाइ छ । मूर्ति बनाउनका लागि उनले २ जनालाई रोजगारी दिएका छन् ।

    आफूसहित ३ जनाले तीन महिनादेखि निरन्तर रुपमा मूर्ति बनाउने काम गरिरहेका छन् । मूर्ति बनाउँदा आत्मा सन्तुष्टीसँगै राम्रैसँग आम्दानी पनि हुने गरेको उनको भनाइ छ । 

    लालुलाई सानै उमेरबाटै कलाकृर्तिप्रति मोह थियो । बालापनमा खोला नाला, पोखरी तथा खेतमा जादा पनि उनी आफ्नै सुरमा भगवानको आकारका मूर्ति बनाएर खेल्ने गरेको सम्झिए । 
    उनी सानैदेखि मूर्ति बनाउने र खोला तथा पोखरीमा लगेर बिर्सजन गर्ने गर्दथे । विद्यालयमा पनि फुर्सद पाउना साथ कापीमा भगवानको चित्र कोर्ने गरेको उनको भनाइ छ । 

    घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले पढाइलाई भने निरन्तरता दिन सकेनन् । उनले ७ कक्षासम्म मात्र अध्ययन गर्ने मौका पाए । तर, उनलाई मूर्ति बनाउने हुटहुटीले भने छोडेन । मूर्ति बनाउने हुटहुटी पुरा गर्नका लागि उनले रोहिणी पारी मूर्तिकारसँग डेढ महिना बसेर मूर्ति बनाउने कला पनि सिके । मूर्तिलाई कसरी आकर्षक बनाउन सकिन्छ भन्ने ध्याउन्नका साथ उनले मूर्तिकारसँग मूर्ति बनाउने कला सिके । 

    उनी घरका तीन सन्तानमध्यको कान्छो छोरा हुन् । उनी सानै हुँदा बुवाको निधन भयो । बुवाको निधन भएपछि आमाले तीन जना सन्तान पालन, पोषण तथा पढाउन अप्ठ्यारो भएपछि उनले पढालाई बीचमै छाडेर जागिरको खोजीमा हिड्नु परेको बताउँछन् । 

    त्यही बीचमा उनले एक ग्रील उद्योगमा काम सिक्न थाले । लालु मूर्ति बनाउने कामबाहेक ग्रील उद्योगमा पनि काम गर्छन् । उनले आफूले काम गरेर चारजनाको परिवार पाल्ने गरेका छन् । अहिले अधिकांश युवा विदेश जाँदा लालुलाई भने अहिलेसम्म विदेश जाने सोच आएको छैन् ।

    हातमा सीप र शरीरमा जाँगर भएपछि स्वदेशमा नै रोजगार जति पनि पाइने उनको भनाइ छ । उनी भन्छन्, ‘विदेशमा गएर आफ्नो परिवारबाट टाढा भएर धेरै पैसा कमाउनु भन्दा आफ्नो देशमा आफ्नो गाँउ, ठाँउमा परिवारसँग बसेर विदेशमा बगाउने पसिना यही बगाउदा खान बस्न छोरा छोरी पढाउन राम्रोसँग पुगेको छ । अहिले मूर्ति बनाउन व्यस्त लालु दशैं तिहारपछि भने आफ्नै पुरानो पेशा ग्रील उद्योगमा काम गर्न जाने उनी बताउँछन् । 

     

     

    images
    प्रकाशित मिति :आश्विन ११, २०८० बिहिवार - १२:२३:२५ बजे

    सिता काफ्ले

    सिता काफ्ले खबरपात्रो डटकमका संबाददाता हुन्।

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij