२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

ईट्टा उद्योगहरुलाई बालश्रममुक्त बनाउने प्रतिवद्वता

मंगलवार , भाद्र २६, २०८०

बुटवल, २६ भदौ । 
लुम्बिनी प्रदेशका ईट्टा व्यवसायीले ईट्टा उद्योगलाई बालश्रममुक्त उद्योग बनाउने प्रतिवद्वता व्यक्त गरेका छन् । अबका दिनमा कुनै पनि ईट्टा उद्योगहरुमा  बालबालिकाहरुलाइ कुनै खालको श्रममा नलगाई उद्योगभित्रै पठनपाठनको व्यवस्था मिलाउने र विद्यालय जाने बालबालिकालाई पढ्नका लागि विद्यालय पठाउने बताएका छन् ।

सबै ईट्टा उद्योगहरुलाई बालश्रममुक्त गराउनका लागि आवश्यक तयारी पूरा भएको उनीहरुले जानकारी गराएका छन् । नेपालको कानूनले बालश्रमलाई निषेध गरेकाले सोही कानूनको पालना गरी ईट्टा उद्योगहरुलाई  बालश्रम मुक्त गरिने उनीहरुले बताए । पहिला पनि बालबालिकालाई काममा नलगाइएको र आफ्ना अभिभावक काममा आउँदा बालबालिकासँगै ल्याएर आउने हुँदा ईट्टा व्यवसायीले बालश्रम शोषण गरे भन्ने आरोप लाग्ने गरेको व्यवसायीको गुनासो छ ।

नेपाल ईट्टा व्यवसायी महासंघ लुम्बिनी प्रदेशको सोमबार रुपन्देहीको सैनामैनास्थित सोना ईट्टा उद्योगमा भएको भेला तथा अन्तरक्रिया कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका ईट्टा व्यवसायीले ईट्टा उद्योगहरुलाई बालश्रममुक्त उद्योग बनाउने प्रतिवद्वता जनाए । ईट्टा उद्योगहरुलाई बालश्रममुक्त गराई बाल विकास केन्द्र स्थापना गरी मजदूरका छोराछोरीहरुलाई शिक्षाको व्यवस्था मिलाउने उनीहरुले प्रतिवद्वता जनाए ।

कार्यक्रममा बोल्दै नेपाल ईट्टा व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष केपी अबालेले श्रमको सम्मान गर्ने र बालबालिकालाई काममा नभइ पठनपाठनमा लगाउने बताए । ईट्टा उद्योगमा बालबालिकाको सहभागीता भए पनि बालश्रम नभएको उनले दावी गरे ।

लुम्बिनी प्रदेशकै नमूना उद्योगको रुपमा रहेको रुपन्देहीको सैनामैनास्थित सोना ईट्टा उद्योगका सञ्चालक विक्रम रत्न बज्राचार्यले उद्योगमा ईट्टाको उत्पादन बढे पनि माघ घट्दै गएपछि ईट्टा व्यवसायीले पछिल्लो समयमा घाटाको  व्यापार गर्नुपरेको बताए ।

उद्योगमा श्रमका लागि आउने मजदूरका छोराछोरीलाई उद्योगमै बालविकास केन्द्र स्थापना गरेर  पढ्ने  वातावरण मिलाइएको र विद्यालय जाने बालबालिकालाई विद्यालय पठाउने गरी व्यवस्था मिलाइएको बज्राचार्यले बताए ।

भेलामा कपिलवस्तुका ईट्टा व्यवसायी गुणनिधि भुसाल, बाँकेका व्यवसायी केशव भण्डारी, रुपन्देहीका गोर्कण खड्का, नेपाल ईट्टा उद्योग महासंघका निर्देशक बद्री कार्कीलगायतले बोल्दै उत्पादन भएका ईट्टा विक्री नहुँदा व्यवसायीले बैंकको व्ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरे ।

निर्माणका कामहरु नहुँदा ईट्टा विक्री नभएपछि घाटा लागेको बताउने ईट्टा व्यवसायीहरु अब उत्पादन लागत घटाउने विषयमा आफूहरु छलफल चलाउने सोचमा रहेको बताउँछन् ।