
सोमवार , माघ १२, २०७७
बुटवल, १२ माघ ।
सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरस्थित गणेश टोल विकास संस्थाको परिसरमा निर्माण हुन लागेको उक्त प्रयोगशाला भवनको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक समारोहकाबीच शिलान्यास गरेका छन् ।
भवनको शिलान्यास गदै मन्त्री बरालले सामान्य प्रयोगशाला जाँचको लागि काठमाडौँ जाने भन्झटबाट अब यस क्षेत्रका विरामीले मुक्ति पाउने बताउँदै सबैका लागि स्वास्थ्य सेवा सर्वसुलभ गराउन प्रदेश सरकार लागि परेको बताए । उनले यस कार्यमा आर्थिक तथा प्राविधिक सहयोग गर्ने सेभ द चिल्ड्रेनलाई स्वास्थ्य क्षेत्रमा आफ्नो महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा प्रदेश सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै जग्गा उपलब्ध गराएकोमा बुटवल उपमहानगरपालिकालाई पनि धन्यवाद दिए ।
मन्त्री बरालले भवन निर्माणसम्पन्न भए पश्चात कर्मचारी व्यवस्थापन लगायतका काम मन्त्रालयबाट नै गरिने पनि बताए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले कोभिड महामारीको समयमा हाम्रो घरदैलोमा यसरी प्रयोगशाला निर्माण हुनु खुशीको कुरा भएको बताइन् । उनले निर्माण कम्पनीले समयमा नै भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिदिनका लागि आव्हान गरिन् । उनले समयमा नै निर्माणसम्पन्न गरेमा प्रोत्साहन स्वरुप निर्माण कम्पनीलाई उपमहानगरपालिकाबाट पुरस्कारको व्यवस्था गरिने बताइन् ।
सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम वहादुर सिंहले प्रदेश सरकार मन्त्रीस्तरको बैठकबाट पारित भए बमोजिम बुटवल उपमहानगर पालिकाबाट प्राप्त करीब १ विगाहा जग्गामा बन्न लागेको यो जनस्वास्थ्य प्रयोगशालाको ४ तल्ले भवन आधुनिक, सुविधा सम्पन्न हुने जानकारी दिदै कोभिडका कारण कार्यमा विलम्ब भएकोमा क्षमायाचना गरे । उनले उक्त भवन यही सेप्टेम्बर २०२१ सम्ममा सम्पन्न गर्ने गरी कार्य अगाडी बढाइने जानकारी दिए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका शाखा अधिकृत सन्तोष खनालको सञ्चालन, निमित्त निर्देशक रोशनलाल चौधरीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थ, स्वास्थ्य तालिम केन्द्र निर्देशक महेश्वर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij