भैरहवा, २१ भदौ ।
भैरहवा–परासी सडकखण्ड अन्तर्गत रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा स्थापना भएको इश्रावती स्टिल्स प्रा.लि.ले बुधवारदेखि उत्पादन सुरु गरेको छ । उद्योग सञ्चालनमा आएसँगै बुधबारदेखि उत्पादन सुरु गरेको हो ।
करिब ६ करोड रुपैयाँको लगानीमा स्थापना भएको उक्त उद्योगले जस्तापाता, ग्याल्भनाइज टीन, सिट, स्मल रिप प्रोफाइल, कट टु लेन्थको उत्पादन सुरु गरेको हो । पूर्व प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रमोद कुमार यादवले बुधवार उद्योगको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै उद्योग सञ्चालनमा आउनु खुसीको विषय भएको बताए ।
उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्योग सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले उद्योग सञ्चालनमा आउँदा खुसीको अनुभुति भएको बताए ।
दुई महिनापछि विभिन्न साइजका स्टिल्सका पाइपहरुको उत्पादन गरिने उद्योगका प्रबन्ध निर्देशक अमरिश यादवले बताए । उनले यो उद्योगको सबै उत्पादन जर्मन प्रविधिको रहेको र गुणस्तरीय रहेको दावी गरे ।
हाल उद्योगमा १५ जना कार्यरत रहेको र उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि ५० जना रोजगारी पुग्ने उद्योगले जनाएको छ । प्रति २४ घण्टामा ७२ टन उत्पादन क्षमता उद्योगको छ ।
इश्रावती स्टिल्स प्रा.लि.का अध्यक्ष सुनिल यादवले उद्योगको सम्पूर्ण कच्चा पदार्थ चीनबाट आयात हुने र उद्योग प्रदुषणरहित भएको बताए ।