२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

न्यूनतम १ हजारसम्मका सामान आयातमा छुट र भन्सार छली गर्नेलाई कारवाही गर्न माग

शुक्रवार , भाद्र १५, २०८०

भैरहवा, १५ भदौ ।
स्वतन्त्र नागरिक अभियान सिद्धार्थनगर, रुपन्देहीले आम नागरिकलाई घर खर्चवापतको न्यूनतम रु. १ हजारसम्मको सम्मान आयातमा छुट गर्न माग गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देही र भैरहवा भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाउँदै अभियानले सुरक्षा व्यवस्था कडा पारी भन्सार छली गर्ने गिरोहलाई रोक्नसमेत माग गरेको हो ।

अभियानका संयोजक नारायण प्रसाद भण्डारीले यस्तो गम्भिर विषयमाथि स्वतन्त्र नागरिक अभियानबाट उठाइएको मागलाई विशेष चासो दिइर नागरिकको सम्मान हुने र भन्सार छली गर्नेलाई कानूनी कारवाही गर्ने गरी व्यवस्था मिलाउन आग्रह गरे ।

उनले भने, ‘अर्थ मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/२०८१ को बजेटमार्फत तथा भन्सार ऐन अन्तर्गत रहेर केही महिनादेखि आगमन गर्ने नेपालीहरुले भारतको बजारबाट सामान खरिद गरी ल्याउँदा रु. १ सय रुपैयाँभन्दा माथिको सामानमा भन्सार शुल्क तिर्ने नीति अख्तियार गरी कार्यान्वयनमा ल्याएकोमा आम नागरिकले सरकारको राजस्व वृद्धि हुने र भन्सार व्यवस्थित हुने साथै नेपालतर्फका व्यवसायमा पनि एकरुपता ल्याउने र व्यापार वृद्धि हुने सबल पक्षहरुको अपेक्षासहित भारतीय सीमा नजिक बस्ने आम नागरिकले केही असहज भए पनि यसको समर्थन गरेका थियौं ।’ विस्तारै समय बित्दै जाँदा यस नीतिको प्रभाव सोचेजस्तो रुपमा लागू हुन नसकेको भण्डारीले बताए । 

‘सीमा नजिकका बासिन्दाहरु धेरैको भारतमा वैवाहिक नातासम्बन्ध रहेकाले यहाँका बासिन्दा नागरिकहरुका छोरा बुहारी भारतमा रहेको, घर माइतीबाट नेपाल फर्किदा आफन्तले दिएका सामान्य घरखर्चको सामान भन्दा धेरै गुणा बढी सामान निर्वाधरुपमा भित्रिरहेकाले एकातर्फ सरकारको राजस्व छली भएको छ भने अर्कोतर्फ सीमा नजिक बसोबास गर्ने ती तमाम आमाबुवा, छोराबुहारी आफ्नो माइतबाट घर आउँदा वा घरबाट माइत जाँदा भन्सार विन्दुमा दुःख पाइरहँदा आम नागरिकलाई मात्र नियम कानून लाग्ने र सामान ओसारपसार गर्ने गिरोहलाई प्रशासनले नियन्त्रण गर्न नसक्ने हो वा नगर्ने हो यसको सप्रमाण पेश गरेका छौं, ज्ञापनपत्रमा भनिएको छ । 

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले तुलनात्मक रुपमा प्रहरीले अवैध सामान बढी बरामद गरेको बताए । उनले भने, ‘नागरिक समाजले प्रशासनलाई सहयोग गर्नुपर्छ । हौसला प्रदान गर्नुपर्छ । हरेक दिन अवैध सामान नियन्त्रणमा लिइएको छ ।’

त्यस्तै भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले भन्सार प्रशासनलाई सूचना दिएर सहयोग गर्न आग्रह गरे । उनले नेपालको सरकारको नीति अनुसार भन्सार प्रशासन अघि बढेको बताए ।

WhatsApp Image 2023-09-01 at 1.42.22 PM.jpeg

WhatsApp Image 2023-09-01 at 1.41.33 PM.jpeg