
आइतवार , माघ ११, २०७७
बुटवल, ११ माघ ।
कोभिड– १९ को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट कुल २० देशमा मृत्यु हुने नेपालीको संख्या ३२७ पुगेको प्रेस संयोजक एवं कोभिड– १९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली संघका संयोजक चिरन शर्माले जानकारी दिए ।
संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार सांझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५३ हजार ४ सय ३२ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९५ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यस साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा दुई हजार नेपाली संक्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा आठ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिए ।
सोही अवधिमा औसतमा एक महिनाको अवधिमा चार हजार संक्रमणमुक्त हुने आंकलन गरिएको डा.सापकोटाले बताए । स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान सुरु भइसके पनि नेपाल लगायतका नेपाली भएका कयौँ मुलुकमा खोप अभियान सुरु नभएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा झण्डै २ हजारको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६९ हजार १ सय ८० पुगेको छ भने २ लाख ६३ हजार ७३४ जना अर्थात् ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij