मंगलवार, मंसिर १९ गते २०८०

जसपाले बोकेको विचारमा देश अघि बढेको छ : राजकिशोर यादव

जसपाले बोकेको विचारमा देश अघि बढेको छ : राजकिशोर यादव

images
images

खबर पात्रो

१३, भाद्र २०८०
  • 4.5K
    SHARES
  • जसपाले बोकेको विचारमा देश अघि बढेको छ : राजकिशोर यादव

    भैरहवा, १३ भदौ ।
    जनता समाजवादी पार्टी (जसपा), नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादवले जसपाले बोकेको विचार र कोरेको राजनीतिक बाटोमा आज देश अघि बढेको दावी गरेका छन् । उनले यही कारणले जसपामा भएका नेता कार्यकर्ताले गर्वको अनुभुति गर्नुपर्ने बताए ।

    जसपा लुम्बिनी प्रदेश समितिले बुधबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको योजनाकार जसपा नै भएको बताए । उनले भने, ‘एकात्मक केन्द्रीकृत राज्य व्यवस्थाले मुलुकमा समृद्धि ल्याउन सक्दैन । ’

    images
    images

    नेपाली कांग्रेसले ७० वर्ष पुरानो र एमालेले पनि त्यही हाराहारीको पुरानो पार्टी भने पनि जसपाले देखेको सपना र देखाएको बाटोमा नेपालका मूलधार र आफूलाई ठूलो भन्ने राजनीतिक दलहरु हिंडेको बताए । उनले भने, ‘जसले जनवाद ल्याउँछौं र कम्युनिष्ट शासनलाई स्थापित गर्छौं भनेर्र  जनयुद्ध लडेका थिए, ती पार्टी समाजवादी मोर्चामा आउनु भनेको हाम्रो पार्टीले अख्तियार गरेको बाटोमा आउनु हो ।’  उनले ठूला पार्टीहरु अस्तित्वको लडाईमा रहेको दावी गरे ।

    उनले विभेदको समाप्ती र निर्मूलीकरणको लागि जसपा पार्टी बनेकाले सबै प्रकारको विभेदको निमूल गर्ने अभियानमा रहेको बताए । उनले जसपाको जन्म आन्दोलन र विद्रोहबाट भएको बताए । उनले जसपाको ३ महिने अभियानले पार्टीको संगठन विस्तार तीव्र रुपमा हुने बताए । 

    प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति तथा पूर्वमन्त्री समेत रहेका नेता यादवले हिजोको शासक वर्गले मधेशी, जनजाति, महिला तथा उत्पीडित समुदायसँग विभेद गरेको बताए । मुलुकलाई समृद्ध बनाउन जसपाले नेतृत्व गर्ने उनको भनाइ छ । पार्टीले मुलुकमा आमूल परिवर्तन खोजेको नेता यादवले बताए । 

    त्यस्तै जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज नविन सुनुवारले टोलटोलमा पार्टीको नीति र विचारलाई स्थापित गर्नुपर्ने बताए । उनले सरकारमा रहदा जनताको काम कति गरियो भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

    पार्टीका राजनीतिक समिति सदस्य मनिकर कार्कीले जनताको समस्यालाई आफ्नो समस्या बुझी समाधान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने, सबै वर्ग, समुदायले समान अवसर पाउनुपर्छ । जसपा परिवर्तनको जननी हो ।

    लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री तथा जसपा नेता भण्डारीलाल अहिरले जनताको जीवनस्तर उकास्न लाग्नुपर्नेमा जोड दिए । 

    जसपा कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादवले कार्यकर्ताको मनोभावना बुझ्दै संगठन विस्तार अभियानलाई तीव्रता दिनुपर्ने बताए ।

    पार्टी रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवले आफ्नो अधिकारका लागि लड्नुपर्ने बताए ।

    जसपा अर्घाखाँचीका इञ्चार्ज नेत्र थापाले पहाडमा भौगोलिक रुपमा संगठन विस्तार गर्न कठिन रहे पनि पछि नहट्ने बताए ।

    पार्टीका गुल्मी जिल्ला अध्यक्ष वीर बहादुर गुरुङले संगठन बलियो बनाउने गरी अघि बढेको बताए ।

    जसपा नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले जसपा सरकारमा भएको अनुभुति हुनुपर्ने बताए ।
    जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षता, केन्द्रीय सदस्य सावित्री वि.क.को स्वागत तथा रुपन्देही जिल्ला निवर्तमान अध्यक्ष रामअवतार यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - १६:५१:३४ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij