भैरहवा, ७ भदौ ।
लायन्स क्लब अफ भैरहवा लिगेसीले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ अजमास्थित श्री लुम्बिनी सनातन संस्कृत विद्या पीठमा खाद्यान्न वितरण गरेको छ । उक्त संस्कृत विद्या पीठमा खाद्यान्न सामग्रीको आवश्यकता रहेको जानकारी पाएपछि बुधबार खाद्यान्न तथा नगद हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका कोषाध्यक्ष सन्दिप अग्रहरीले बताए । चामल, दाल, सोयाबीन, आलु, तेल, भुजा, चनालगायत गरी रु. ३० हजार मूल्य बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको अग्रहरीले जानकारी दिए ।
कार्यक्रम संयोजक अग्रहरीका अनुसार संस्कृत विद्या पीठको अवस्थाको बारेमा क्लबका सह–सचिव गोविन्द उपाध्यायले बैठकमा जानकारी गराएका थिए । त्यसपछि वर्ष २०२३/०२४ को पहिलो कार्यक्रम अन्तर्गत क्लबले संस्कृत विद्या पीठमा कार्यक्रम गरेको क्लबका सदस्य शैलेष उपाध्यायले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका क्याबिनेट सेक्रेटरी विनोद खरेलले लायन्स क्लब अफ सदस्यहरुले रकम संकलन गरेर संस्कृति विद्यापीठलाई सहयोग गरेको बताए । उनले भने, ‘आफ्नो आम्दानीको केही रकम लायन्स क्लबका सदस्यहरुले सामाजिक क्षेत्रमा खर्चिनु भएको छ । ’
आगामी दिनमा श्री लुम्बिनी सनातन संस्कृत विद्या पीठमा सहयोग गर्ने अन्य क्लबहरुलाई पनि आह्वान गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै लायन्स क्लब अफ भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले संस्कृत विद्या पीठमा दैनिक उपभोग्य सामग्री वितरण गरिएको बताए । उनले संस्कारयुक्त शिक्षा आजको आवश्यकता रहेकाले संस्कृत विद्या पीठ सञ्चालनमा क्लबले आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हरिकेश लोधले लायन्स क्लब अफ भैरहवा लिगेसीले पुनित कार्य गरेको बताए ।
समाजसेवी तथा लायन्सका अगुवा अजय कुमार गुप्ताले अहिले लायन्स क्लब अफ भैरहवा लिगेसीले श्री लुम्बिनी सनातन संस्कृत विद्या पीठमा सहयोगको सुरुवात गरे पनि अब सहयोग कार्यलाई अभियानको रुपमा लैजाने बताए ।
लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायको अध्यक्षता, क्लबका प्रथम उपाध्यक्ष राजन शुक्लाको स्वागत तथा सचिव नारायण प्रसाद कोइरालाको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्सका एरिया–५ का चिफ सतिश कुमार कौसल (दीपक), लायन्स अगुवाहरु धिरज कुमार मल्लिक, राजेन्द्र थापा, पीएमजेएफ अरुण कुमार मिश्रा, समाजसेवी सन्तोष शुक्ला, विनय मिश्रा, दुर्गा प्रकाश गुप्ता, मनोज अग्रहरी, श्री लुम्बिनी सनातन संस्कृत विद्या पीठका अध्यक्ष दीपक प्रसाद लोध, प्रअ शिवम पाण्डेयलगायतको उपस्थिति रहेको थियो ।