
मंगलवार , भाद्र ५, २०८०
भैरहवा, ५ भदौ ।
रुपन्देहीमा सीमा सहजीकरण समिति गठन गरिएको छ । नेपाल भारत सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणार्थ सहयोग, सीमा स्तम्भहरुको अवस्था तथा सीमा आबद्ध अपराध, विपद्जन्य प्रकोप एवं संक्रामक रोगहरुमा सहयोगको लागि समिति गठन गरिएको हो ।
नेपालभरी सीमासँग जोडिएका वडाहरुमा सीमा सहजीकरण समिति गठन गर्ने कार्यक्रमअनुसार मंगलबार सिद्धार्थनगर नगरपालिका–१ मा उक्त समिति गठन गरिएको सीमा सुरक्षा गुल्म डण्डाका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अरुण कुमार शर्माले बताए । उनले भने, ‘सीमा क्षेत्रमा विभिन्न निकाय खटिएका छौं, टीमवर्कमा काम गर्नुपर्यो भन्ने उद्देश्यले हेडक्वाटरको कार्यक्रम अनुसार वडा नम्बर १ मा यो समिति गठन गरिएको हो ।’
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलको अध्यक्षतामा सीमा सहजीकरण समिति गठन गर्नका लागि बैठक बसेको छ ।
वडाअध्यक्ष पोखरेलको संयोजकत्वमा गठन भएको ११ सदस्यीय समितिको सदस्यहरुमा वडा सदस्य मिन बहादुर गुरुङ, सामाजिक संघ–संस्था प्रतिनिधि ग्यासुद्दीन पठान, स्थानीय युवा क्लब प्रतिनिधि राम बहादुर बस्नेत, नागरिक समाज प्रतिनिधि सुरेन्द्र कुमार क्षेत्री, पत्रकार प्रतिनिधि रबिन्द्र गुप्ता, उद्योग वाणिज्य संघका प्रतिनिधि कृष्ण घिमिरे, शिक्षक प्रतिनिधि बृजेश कार्की, नेपाल प्रहरी स्थानीय ईलाका प्रहरी कार्यालय बेलहिया प्रमुख कृष्ण विष्ट, सम्बन्धित गण अधिकृत प्रतिनिधि सशस्त्र प्रहरी निरीक्षक गणेश खनिया र सीमा सुरक्षा गुल्म डण्डा प्रतिनिधि सशस्त्र प्रहरी नायब निरीक्षक ऋषिराम खनाल रहेका छन् ।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) अरुण कुमार शर्माको प्रमुख आतिथ्यतामा भएको बैठकमा जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका प्रतिनिधि, शिक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाजका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij