
सोमवार , भाद्र ४, २०८०
बुटवल, ४ भदौ ।
बुटवलको मिलनचोकमा कोनोसु जापानिज ल्याङवेज कन्सलटेन्सी सञ्चालनमा आएको छ । जापानिज भाषा पढाउने र इच्छुक विद्यार्थीलाई उच्च शिक्षाका लागि जापान पठाउने उद्देश्यसहित कन्सलटेन्सी स्थापना गरिएको हो ।
कन्सलटेन्सीको सोमबार बर्दियाको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले उद्घाटन गरेका छन् । जापानमा रहेका र जापान अध्ययन गरी फर्किएका तीनजना युवाले कन्सलटेन्सी सञ्चालनमा ल्याएका हुन् ।
सो अवसरमा बोल्दै अध्यक्ष त्रिपाठीले पछिल्लो समय नेपाली युवा विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेहरूको संख्या धेरै रहेको बताउँदै उनीहरुको लागि कन्सलटेन्सीले पुलको काम गर्ने बताए । उनले विद्यार्थीको पढाइसँगै कन्सलटेन्सीहरुले प्रक्रियागत झन्झटहरुलाई पनि सही रुपमा समाधान गर्नुपर्नेमा जोड दिए ।
कन्सलटेन्सीका प्रबन्ध निर्देशक कमल गौतमले विद्यार्थीहरुलाई सहज तरिकाले उच्च शिक्षा अध्ययनको लागि जापान जान सहजीकरण गरिने बताए ।
कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रेमबहादुर थापा क्षेत्रीले उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीहरु ज्ञान र सीपसहित स्वदेश फर्किदा मुलुकको विकासमा टेवा पुग्ने बताए ।
संस्थाका अध्यक्ष चिना पुनले जुममार्फत जापानबाट सम्बोधन गर्दै आफूहरुमार्फत आउने विद्यार्थीलाई दुःख नपाउने गरी काम गर्ने बताइन ।
कार्यक्रममा कोनोसु जापानिज ल्याङवेज कन्सलटेन्सीका सञ्चालक सुशील थापा क्षेत्रीले कोनोसुबाट प्रक्रिया पूरा गरेका विद्यार्थीहरूलाई कुनै दिन पनि असहज हुन नदिने गरी कामको थालनी गरिएको बताए । कोनोसु इन्टरनेशनल कलेज जापानका प्रिन्सिपल नाइ मुरा फुयुमीले यस कन्सन्टेन्सीबाट आउनेलाई जापानमा सहयोग गर्ने बताए ।
कार्यक्रममा कोनोसु जापानिज ल्याङवेज कन्सलटेन्सी दाङ शाखाका सञ्चालक दीप श्रेष्ठ, नेपाल मानव धर्म सेवा समिति हंसयोग आश्रम बुटवल शाखाका प्रमुख माहात्मा अम्बिका वाइजी, बढैयाताल गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष तेजनाथ पौडेल, प्रकाश गौतम, खममाया पुनलगायतले बोलेका थिए । शिवराज गौतमको धन्यवाद ज्ञापन तथा पत्रकार केशव भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij