२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

कोरोनाको नयाँ प्रजाति नेपालमा पनि भेटियो

सोमवार , माघ ५, २०७७

काठमाडौं, ५ माघ ।
बेलायतबाट फैलिएको कोराना भाइरसको नयाँ प्रजाति नेपालमा पनि भेटिएको छ । केही दिन अघि बेलायतबाट नेपाल आएका ३ जनामा नयाँ प्रजातिको भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ वर्षिय महिला, ३२ वर्षिय र ६७ वर्षिय पुरुषमा कोरोनाको नयाँ प्रजाति पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाको नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट केही दिनअघि फर्किएकालाई निगरानीमा राखी नुमना परीक्षण गर्न पठाइएको थियो । जसमध्ये ३ वटा नमुना नेगेटिभ देखिएपछि नयाँ प्रजातिको संक्रमण पुष्टि गर्न पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशाला पठाइएको डा. गौतमले जानकारी दिए । उनले प्रयोगशालाबाट ३ जनामा नयाँ प्रजातिको संक्रमण भएको पुष्टि भएको जानकारी प्राप्त भएको जानकारी दिए । संक्रमण पुष्टि भएका तीन जनामध्ये २८ वर्षिय महिला र ३२ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आइसकेको छ । तर ६७ वर्षिय पुरुष पोजेटिभ नै रहे पनि लक्षण नदेखिएको प्रवक्ता गौतमले बताए । 

उनले नेपालमा भ्याक्सिन उपलब्ध नहुञ्जेल उच्च सावधानी अपनाउन आग्रह गरे। सकेसम्म भीडमा नजाने, जानुपरे पनि दुई मिटरको दूरी कायम राख्ने, बाहिर जाँदा अनिवार्य मास्क लगाउने र साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न उनले सुझाव दिएका छन् ।