मंगलवार, मंसिर १९ गते २०८०

कृषिको विकासका लागि सिंचाइको व्यवस्थापन आवश्यक : मन्त्री पाण्डेय

कृषिको विकासका लागि सिंचाइको व्यवस्थापन आवश्यक : मन्त्री पाण्डेय

images
images

खबर पात्रो

२९, आषाढ २०८०
  • 733
    SHARES
  • कृषिको विकासका लागि सिंचाइको व्यवस्थापन आवश्यक : मन्त्री पाण्डेय

    भैरहवा, २९ असार ।
    लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले मर्चवारको पहिचान प्रदेशस्तरमा मात्र नभइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा समेत रहेको बताए । उनले यस क्षेत्रको पहिचान कृषि भएको र कृषिको विकासको सिंचाइको प्रमुख भूमिका रहेकोले सिंचाइको व्यवस्थापनका लागि सबैले सकारात्मक सहयोगको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

    मर्चवार लिफ्ट सिंचाइ जल उपभोक्ता संस्थाका विभिन्न पदाधिकारीसहित सरोकारवालाहरुलाई सिंचाइ संस्थागत विकास तथा क्षमता अभिवृद्धि तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले मर्चवार लिफ्ट सिंचाइ आयोजनाद्वारा सिंचाइ हुने कार्यमा बाधा पुगेको विभिन्न समस्यालाई निवारण गर्न लुम्बिनी प्रदेश सरकार पुर्ण रुपमा सकारात्मक रहेको बताए । उनले भने ‘मर्चवार लिफ्ट सिंचाई आयोजनाको पम्प स्टेशनलाई आवश्यक मर्मत सम्भारको लागि आवश्यक बजेटलाई स्टीमेट गरी पेश गर्नुहोला । प्रदेश सरकारबाट सो बजेट उपलब्ध गराउनेछु ।’ लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले बजेटलाई सदुपयोग गर्दै किसानमुखी कार्य गर्न व्यवस्थापन समितिलाई उनले आग्रह गरे ।

    images
    images

    त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वसीउद्दीन खानले मर्चवार लिफ्ट सिँचाईको लागि प्रदेश सरकारबाट आफूले ५० लाख बजेट बिनियोजन गराउन सफल भएको बताए । आगामी दिनमा थप रकम बिनियोजन गराउने प्रयास गर्ने उनले बताए । नहर व्यवस्थापन गर्न आफू सधै प्रयासरत रहेको भन्दै व्यवस्थापन समिति सक्रिय भइ हरेक निकायमा यस संस्थाको समस्याबारे अवगत गराउन उनले आग्रह गरे ।

    त्यसै गरी लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले मर्चवार लिफ्ट सिचाई आयोजना मर्चवारको मुटुको रुपमा रहेको बताए । आकाशे पानी नपर्दा नहरले नै मर्चवारको कृषि उपजको प्रमुख भूमिका निर्वाह गर्ने भएकोले यसलाई मर्मतसम्भार गरी मर्चवारको हरेक कुनामा पानी पुर्याउन आफूले सदनमा पटकपटक माग गरेको बताए । उनले भने,‘म अहिले मन्त्री हुन सकिन तर पनि तुनिहवा–अमवा, सेमरा, बनागाई करौता, रोइनिहवा क्षेत्रमा पूर्ण रुपले पानी पुर्याउन विभिन्न निकायसँग बजेट माग गरेको छु । ’ आफ्नो कार्यकालमा हरेक खेत खेतमा मर्चवार लिफ्ट सिँचाई अयोजनाको पानी पुर्याउन कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ ।

    मर्चवार लिफ्ट सिंचाइ प्रणाली जल उपभोक्ता समितिका अध्यक्ष नजीर अहमद खानको अध्यक्षता तथा सचिव जगन्नाथ प्रसाद कुर्मीको सञ्चालनमा भएको कार्यक्रममा सिंचाई डिभिजन कार्यालय भैरहवाका प्रमुख विष्णु पौडेल, सिंचाई ब्लक प्रतिनिधि अलाउद्दीन खानलगायतले बोलेका थिए ।

    लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय, जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय रुपन्देहीको आयोजना तथा मर्चवार लिफ्ट सिँचाई प्रणाली जल उपभोक्ता समितिको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । नहरको व्यवस्थापन, भौतिक पूर्वाधारको संरक्षण, पानीको सदुपयोग, प्राकृतिक श्रोतको संरक्षण लगायतबारे तालिममा प्रशिक्षण गरिएको थियो ।

     

    images
    प्रकाशित मिति :आषाढ २९, २०८० शुक्रवार - ०९:१६:०३ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij