images

शनिवार, बैशाख २२ गते २०८१

असार २९ : भानु जयन्ती

असार २९ : भानु जयन्ती

images
images
images
शुक्रवार, आषाढ २९ २०८०
शुक्रवार, आषाढ २९ २०८०
  • असार २९ : भानु जयन्ती

     

    images
    images
    images
    Udayamallik bhanubhakta pic.jpg
    –  उदय कुमार मल्लिक

    २०७१ असार २५ गतेअघि भानुभक्त आचार्य, उनको जीवनी, कृतिहरु अध्ययनका लागि एउटा शैक्षिक सामग्रीमात्रै थिए । सतही रुपमा उहाँ र उहाँको जीवनी थाहा थियो, सबैलाई थाहा भएको कुरा हो । त्यसदिन हामी ‘शैक्षिक तथा व्यवस्थापकीय’ भ्रमणअन्तर्गत पूर्वी नेपालको इलामको भ्रमण सकेर पशुपतिनगरको बाटो हुँदै राती करिब ८ बजे दार्जलिङको बसपार्क पुग्यौं र त्यहाँ नजिकै होटेल गरी सरसामान राखी त्यहाँबाट सबै साथीहरु विष्णु सरको अगुवाइमा राती १० बजेतिर पदयात्रा गरी ‘मालरोड (भानुभक्त सरानी) हुँदै ‘चौरस्ता’ भन्ने ठाउँ पुगियो । (भनिन्छ कि दार्जलिङ घुम्न जाँदा ‘चौरस्ता’ नघुमी दार्जलिङ घुमिदैन भनेर) ।  

    सुरुमा त चौरस्ता एउटा चौबाटो होला भन्ने सोच्यौं र जाँदा चारवटा बाटो एकै ठाउँमा भेटिएको ठाउँ नै थियो । तर त्यहाँ, राती अलिअलि अँध्यारोमा चौरस्ताको बीचमा एउटा ठुलो बिशालकाय पूर्ण कदको पहेलो  रंगको मूर्ति देखिन थाल्यो । टाढाबाट हेर्दा चिनेचिनेको जस्तो लाग्ने मूर्ति  नजिक पुगेर हेर्दा त हामी छक्क नै पर्यौ । एकदमै उत्साहित भइयो कि त्यो बिशालकाय मूर्ति अरु कसैको होइन हाम्रो देशको आदिकवि भानुभक्त आचार्यको थियो । त्यत्रो विशाल पूर्णकदको भानुभक्तको मूर्ति त्यो बेलासम्म हामीले नेपालमा देखेका थिएनौं ।

    दार्जलिङ जुन भारतको पश्चिम बंगाल राज्यको एउटा अतिसुन्दर मनमोहक शहर हो जहाँ अधिक्तम संख्यामा नेपाली भाषिक बस्छन त्यहाँ नेपाली भाषाका आदिकवि भानुभक्तको मूर्ति त्यो पनि शहरको सबैभन्दा महत्वपूर्ण ठाउँमा राखिनु भनेको नेपाली र नेपाली भाषालाई कति महत्व दिइएको थाहा पाउन सकिन्छ । यसपछि बिहान फेरि त्यही चौरस्तामा सबैजना आई फेरी त्यो मुर्ति हेर्दा मन गदगद र तरंगित भयो । ‘आहा ! कस्तो राम्रो मुर्ति ! ‘हाम्रो भानुभक्त ! भन्ने सबैको मनबाट निस्कियो ।  ( भारतमा हामी नभएको भए सायद’ हाम्रो’ भन्ने शब्द निस्किन्थेन होला) । त्यसपछि हामीले एकआपसमा कुरा गर्यौं कि भारतमा पनि भानुभक्तको कति महत्व दिइएको छ भनेर त्यहीक्रममा विष्णु सरले भन्नुभयो तपाईंहरुलाई एउटा अर्को चीज पनि देखाउँछु । जसले तपाईंहरुलाई अरु रोमाञ्चित बनाउँछ  । एकैछिनपछिको पैदलयात्राको क्रममा एउटा विशाल भवनको गेट नजिक हामी आइपुग्यौं । सायद त्यो भवन दार्जलिङको सबैभन्दा ठुलो वा सबैभन्दा ठुलोमध्ये एक हो जुन दार्जलिङको प्राय ः सबै ठाउँबाट देखिन्छ । हामीले विष्णु सरलाई सोध्यौं ‘हामी कहाँ आइपुग्यौं  सर ?’

    उहाँले भन्नुभयो, ‘उ भवनको टुप्पो र भवनको गेटमा पढ्नुस त ! हामी सबैले एकैचोटी माथी हेर्यौं त्यहाँ ठुलो अक्षरमा लेखिएको थियो– ‘भानु भवन’ (जसलाई गोरखा रंगमंच पनि भनिन्छ) । फेरी हामी अचम्मित भयौं कि यत्रो विशाल भवन हाम्रो भानुभक्तको नाममा (जसबाट नेपालीत्व झल्किन्थ्यो) । हामीलाई गौरवान्वित महसुस भयो र दुःखी पनि किन कि हामीले खासै केही गर्दैनौं र गरेका छैनौं भानुभक्तको नाउँमा । बस अलिअलि सानो तिनो पाठ गर्छौं, अलिअलि कविता लेखेर वाचन गर्छौं इत्यादी । त्यहाँ पुगेर थाहा पाइयो जति महत्व हामीले दिनुपर्ने हो त्यो त्यहाँ दिइएको छ । 

    त्यसपछि केही दिनको दार्जलिङ भ्रमणपछि हामी सिक्किमतिर गयौं । असार २८ गते । असार २८ विभिन्न ठाउँको अवलोकनपछि राति सुत्यौं । अर्कोदिन बिहान ८ बजे सबैजना उठ्यौं जुन दिन असार २९ गते थियो । हामीलाई त थाहा पनि थिएन कि आज भानु जयन्ती हो भनेर । (हुन त भ्रमणको समयमा कुन दिन चलिरहेछ त्यो नै थाहा हुँदैन विशेष दिनहरु कसरी थाहा होस् ? बिहान सबैजना नित्य कर्म गरी नास्ता खान होटेलको ठुलो हलमा आइपुग्यौं, नास्ता पस्किन सुरु भयो । उता मनोज सरले टेलिभिजन खोल्नुभयो । टेलिभिजन खोलेर एक दुईवटा च्यानल बदलिदैं जाँदा ठ्याक्कै एउटा च्यानलमा रोकियो त्यो च्यानलबाट नेपाली भाषामा केही प्रसारण हुँदै थियो ।  हामीले सोच्यौं कि हाम्रै देश नेपालको कुनै नेपाली च्यानल होला अनि नास्ता खान थाल्यौं । एकैछिनपछि खेमेन्द्र सरले, चुडामणि सरले उत्साहित भएर एकैपटक भन्नुभयो कि सरहरू यो त लाइभ टेलिकास्ट हो, यहींको च्यानल हो ।

    त्यसपछि सबै आ–आफ्नो ध्यान टेलिभिजनतिर केन्द्रित गर्दा त त्यसमा एउटा भवनको हालभित्र भानुभक्त आचार्यद्वारा रचित रामायणको रंगमंचबाट सीधा प्रसारण थियो जसलाई केहीबेर पहिले नै सिक्किमका मुख्यमन्त्री श्री पवन च्यामलिङले भव्यताका साथ उद्घाटन गरी त्यही बसेर रामायण अवलोकन गर्दै हुनुहुन्थ्यो । कलाकारहरुले भानुभक्त कालको नेपाली भाषाको शैलीमै अभिनय गर्दै थिए । हामीले पनि विभोर भएर एक घण्टासम्म त्यो कार्यक्रम हेरी राख्यौं । त्यसपछि  हामीलाई घुमाउने गाडी आइपुग्यो । सबैजना गाडीमा बस्यौं । बसन्त सर, म, गोकुल सर र राजेन्द्र सरले सवारीचालकलाई भन्यौं कि सबभन्दा पहिले त्यही कार्यक्रम भइरहेको भवनतिर लैजानुस् । एकछिनपछि त्यहाँ पुग्यौं । त्यो भवनमा र वरिपरी एकदम रमणीय वातावरण थियो, जस्तै कुनै पर्व मनाइँदैछ । प्रायः सबैले दौरा सुरुवाल र गुन्योचोलो लगाएका थिए । नरसिंगा, ट्याम्को र दमाहाले त्यो ठाउँ गुन्जीरहेको थियो । भानुभक्तको जय जयकार हुँदै थियो । दसैं भन्दा कम महसुस भइ राखेको थिएन । एकछिन त्यहीं ओर्लेर घुम्यौं । त्यसपछि छ्यान्गु लेकतिर गयौं । फर्किदा राती भयो । होटेलमा आएर, खाना खाएर, मर्माहित भएर एउटा औपचारिक बैठक जस्तो नै बस्यौं कि हामीले पनि भानुजयन्ती र नेपाली भाषाको लागि केही गर्नुपर्छ भनेर ।  भारतको दार्जलिङ, सिक्किम, पूर्वोत्तर राज्यहरु, कोलकाता, उत्तराखण्डमा भानुभक्त र नेपाली भाषालाई कति महत्व दिएका छन् । हामीले पनि एउटा सानो सुरुवात भए पनि गरौं । त्यहाँ एकैस्वरमा सबैले भन्यौं,  ‘गरौं’ र यहाँबाट फर्केर अरु साथीहरुलाई पनि प्रेरित गरौं भनेर बैठकबाट उठ्यौं र केही दिनपछि फर्कियौं ।

     फर्केर आएपछि अरु साथीहरुलाई पनि अनुभव सुनायौं र निर्णय गर्यौं कि अब आउने दिनहरुमा हामीहरुले पनि भव्यताको साथ उपलब्धीमूलक, चेतनामूलक हुने गरी भानु जयन्ती र नेपाली  भाषा  दिवस मनाउने ।  तत्पश्चात् हामीले २०७२ र २०७३ सालमा सिद्धार्थ साहित्य परिषद, रुपन्देहीसँग संयुक्त आयोजना दुई वर्ष सभ्य र भव्य रुपमा उपलब्धीमूलक र चेतनामूलक कार्यक्रमहरु गर्यौं ।

    कार्यक्रमहरुमा भानुभक्त, भानु जयन्ती र नेपाली भाषालाई संरक्षण, प्रवद्र्धन गर्ने कार्यक्रमहरु पन्चेबाजा बजाई चेतनामूलक प्रभातफेरी, प्रवचन, स्रष्टा सम्मान, भानु शालिकमा माल्यार्पण, विद्यालयस्तरमा सबै विद्यार्थीहरुमा प्रभाव पर्ने गरी भानुसम्बन्धि चित्रकला प्रदर्शन, निबन्ध लेखन, जीवनी लेखन, हाजिरीजवाफ, कविता लेखन एवं वाचन, इत्यादी कार्यक्रमहरु आजसम्म सप्ताहव्यापी रुपमा गर्दै आएका छौं । केही प्राविधिक कारणहरुले गर्दा २०७४ सालदेखि हामीले आफै यी कार्यक्रमहरु गर्दै आएका छौं । २०७२ सालदेखि नै हामीले भानुभक्त सम्बन्धि दुईवटा पुरस्कारहरु (नगद एवं ताम्रपत्रसहित स्रष्टाका श्रीमान्÷श्रीमतीसहित) प्रदान गर्दै आएका छौं १) सामूहिक भानु पुरस्कार र २) सामूहिक भानु युवा प्रतिभा पुरस्कार ।

    छिमेकी राष्ट्र भारतका दार्जलिङ, सिक्किम, कोलकाता, उत्तराखण्ड राज्य र पूर्वोत्तर राज्यहरु लगायत दर्जनौं ठाउँहरुमा भानुभक्तको जन्मजयन्तीको अवसरमा विशेष कार्यक्रमहरु गरी मनाउने प्रचलन छ । त्यहाँ उक्त दिन सार्वजनिक विदा नै गरी भव्य रुपमा उनको साहित्यको योगदानलाई उच्च प्रशंसा एवं कदर गर्ने गरिन्छ । भारत सरकार या राज्य सरकारहरुले र त्यहाँका नागरिकले नेपाली साहित्यकारलाई यसप्रकारले सम्मान गर्नु हामी नेपालीको लागि हो । तर आफ्नै देशमा उनको खुलेर प्रशंसा र सम्मान हुन नसक्दा मन दुख्छ । भानुभक्तको आफ्नै जन्मभूमिमा उच्च कदर गर्न का निम्ति हामी गतवर्ष (२०७९ साल असार २९ गते ) जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत सम्मानीय नेपालका प्रधानमन्त्रीसमक्ष असार २९ गते भानुजयन्तीका अवसरमा उच्च कदर गर्दै सार्वजनिक विदासाहित राष्ट्र पर्वका रुपमा मनाउनुपर्ने र असार २९ गते भानुजयन्तीको दिनलाई ‘नेपाली भाषा दिवस’ रुपमा घोषणा गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका थियौं । र, यो साल र आउने वर्षहरुमा पनि हाम्रो यही माग हुनेछ ।

    यी सम्पूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिइ आउने दिनहरुमा आदिकवि भानुभक्त आचार्यको पूर्णकदको शालिक निर्माण गरी एउटा चोकमा राखी ‘भानु चोक’ बनाउने, भानुभक्त पुस्तकालय, भानुभक्त संग्रहालय ‘नेपाली भाषा दिवस’ घोषणा गराउने, र भानुजयन्ती र नेपाली भाषालाई स्थानीय राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा संरक्षण, विकास र प्रवद्र्धन गर्ने उद्देश्य लिएका छौं । र, यो उद्देश्य सबैको सहयोगले मात्र प्राप्त हुन्छ ।

    र अन्तमा भानुभक्त, भानु जयन्तीलाई एउटा पठनपाठनको शैक्षिक  तथा धार्मिक सामाग्री र दिवस मात्रै नबनाइ यसलाई राष्ट्रिय नेपाली  भाषासँग जोडी, उदगम विन्दुको रुपमा लगेर यसको विकास, संरक्षण र प्रवद्र्धन गर्ने काम हामी सबैको कर्तव्य हो । भानुभक्त र नेपाली भाषालाई दुई  पर्यायवाची शब्द मान्न सकिन्छ । (हुन त अन्य साहित्यकारहरुले पनि नेपाली साहित्यमा आ–आफ्नो कालखण्डमा महत्वपूर्ण योगदान दिएका  छन् ।) नेपाली भाषा जसले सम्पूर्ण नेपालीहरुलाई एउटै भाषामा गाँसेर भाषीय र राष्ट्रिय एकीकरण गरेको छ । तसर्थ नेपाली भाषाले नेपालमा बोलिने भाषाहरुको नेतृत्व लिएको हो भन्ने बुझ्न सकिन्छ । नेपालको संविधान–२०७२ ले पनि नेपाली भाषा लगायत नेपालभित्र बोलिने सम्पूर्ण भाषाहरुको विकास, संरक्षण र प्रवद्र्धन गर्ने अवधारणा लिएको छ र सोहीअनुरुप नेपाल सरकारले पनि ‘भाषा आयोग’ को गठन गरेको छ ।  आशा गरौं भाषा आयोग, नेपाल सरकार र हामी सबैले भानुभक्तका कृतिहरु, भानु जयन्ती र नेपाली भाषालाई सार्थक बनाउने नै छौं ।

    (माथीको प्रस्तुतीकरणमा हामी भन्नाले सामूहिक विद्यालय परिवार, रुपन्देही) द्वारा २०७१ सालमा आयोजित ‘शैक्षिक एवं व्यवस्थापकीय भ्रमण’मा गएका सामूहिक विद्यालय परिवार, रुपन्देहीका सदस्यहरु : विष्णु प्रसाद पन्थी, खेमेन्द्र राना, चुडामणि भुसाल, बसन्त पाण्डे, उदय कुमार मल्लिक, गोकुल पोखरेल, राजेन्द्र घिमिरे, एल.बी. रौतार, प्रेम नारायण पौडेल, भरत गिरी, मनोज कुमार यादव, शक्तिधर यादव र डोलराज बेलबासे हुन् । )

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij