images

शनिवार, बैशाख १५ गते २०८१

भीम अस्पताल : १५ वर्ष अघि र अहिले

भीम अस्पताल : १५ वर्ष अघि र अहिले

images
images
images
आइतवार, आषाढ १७ २०८०
आइतवार, आषाढ १७ २०८०
  • भीम अस्पताल : १५ वर्ष अघि र अहिले

    भैरहवा, १७ असार । भदौको महिना। साँझको ५/६ बजे सम्म पनि चर्को घाम लागिरहेको थियो । त्यहीबीचमा बुवा आएर भन्नुभयो, ढिला हुन लाग्यो अब पनि घाँस काट्न नजाने हो भने त भारी पुर्याउन ग्राहो हुन्छ । बुवाको कुरा सुनेर म हातमा हंसिया र नाम्लो लिएर घाँस काट्न खेततिर हिंडे । घाँस काट्न जादै गर्दा बाटोमा सर्पले टोक्यो । खुट्टामा टोकेको सर्प विषालु हो या होइन त्यो भने छुट्टाउन सकिन । त्यसपछि मैले आफूसँग भएको सल च्यातेर हत्तपत्त खुट्टामा बाधे ।

    images

    सानो मुठा घाँस काट्दै गर्दा खुट्टा झम्झम गर्न थाल्यो । हतारहतार गरी घरमा पुगे । र आमालाई सुनाए, आमा डराएर दाइ दिदीलाई छिटो अस्पताल लैजान अग्रह गर्नुभयो । सर्पको टोकाइको उपचार सरकारी अस्पतालमा मात्र गरिने रहेछ । हाम्रो घरबाट नजिकमा पर्ने भीम अस्पताल पुग्यौं । त्यो बेला म पहिलोपटक भैरहवास्थित भीम अस्पताल पुगेकी थिए ।

    यस्तो थियो, म पहिलोपटक पुग्दाको भीम अस्पताल
    आज भन्दा १५/१६ वर्ष अगाडि पहिलोपटक सर्पको टोकाइले गर्दा उपचारको लागि अस्पताल पुगे । डाक्टरको सल्लाहपछि २४ घण्टा अस्पतालमा भर्ना भएर उपचार गराउन सल्लाह दिनुभयो । डाक्टरको सल्लाहपछि म अस्पताल भर्ना भए । पानी पनि खान नमिल्ने, सुत्न पनि नमिल्ने रहेछ । खाना कुरा त झनै भएन । जब भर्ना भएर बेडमा पुगे अस्पतालको अवस्था देख्दा कसरी २४ घण्टा बिताउने होला भन्ने भयो ।

    बिरामी सुत्ने बेड कुच्चिएका र बांगिएका थिए । झ्यालमा जाली नै थिएन । कतिपय झ्यालको त पल्ला नै थिएन् । भैरहवाको प्रचण्ड गर्मी पखां बांगिएका,  हावा नफाल्ने, त्यसैमाथि त्यो बेलाको अनियमित विद्युत कटौती ।

    अस्पतालको बाहिर तथा भित्र कोठाहरुको भित्ताहरुमा फोहोरका धब्बा । छोइदा पनि मन जिरिङ हुने खालका । शौचालयको त कुरै नगरौ, सौच गर्न गए उल्टै थप बिरामी पर्ने खालको दुर्गन्धित । आफू त बिरामी आएको, मलाई कुर्न आएका कुरुवा पनि उल्टै बिरामी भएर जाने हुन् कि भन्ने डरमा परे । न सुत्न हुने, न खान मिन्ने, मलाई कुर्न बस्नुभएका दिदी र भाइ कुर्सीमा बसी बेडमा टाउको राखेर यसो ढल्किनुभयो । म वरीपरी आएका लामखुट्टे धपाउँदै बसे । छेउछाउमा झाडापखाला लागेका बिरामी थिए ।

    मेरो लागि त्यो रात यति लामो र कष्टकर भयो की अहिले पनि त्यो कुरा कल्पना समेत गर्न सक्दिन । त्यो रात कटाउन यति ग्राहो भयो की, कुनै सीमा नै रहेन । अस्पतालमा बस्नै मन लागेन, २४ घण्टा भनेको छ आफूलाई भने २४ मिनेट पनि धेरै ग्राहो भइसक्यो । बिहानको ४ बजेको थियो । मनमा एउटा उपाय आयो अब बाहिर डुल्छु भनेर भाग्नु पर्यो । हातमा केनला लगाएको थियो । हातमा केनला देखे भने मलाई समात्छ भन्ने लाग्यो ।

    त्यसपछि हातमा रुमाल बेरेर बाहिर निस्कन लागे । बाहिर जाँदै गर्दा गेटमा ठूलो भोटे ताच्चा झुण्डाएको देखेपछि निराश हँुदै फेरी बेडमा गएर बसे । त्यो समय मेरो मनमा म उपचारको लागि होइन कैदी भएर बसेको जस्तो आभास भएको थियो, भने अर्कोतर्फ त्यहाँ कार्यरत कर्मचारीहरुले यो ठाउँमा कसरी काम गरे होलान् भन्ने कुराले पिरोलीरह्यो ।
    उपचारको लागि गएकी म अस्पतालको अवस्थाले झनै बिरामी परिएला जस्तो भयो । २४ घण्टाको अबर्जरवेशनपछि कुनै समस्या नभएपछि हामी घर गयौं । तर मेरो मन मस्तिष्कमा भने भीम अस्पतालको दयनीय अवस्थाले घर बनायो । बिरामी परेर भीम अस्पतालमा उपचार गराउन कोही नगए हुने भन्ने लागि रह्यो ।

    रुपन्देहीको सबैभन्दा पुरानो अस्पताल हो भीम अस्पताल । सिद्धार्थनगर नगरपालिका पनि पुरानो नगरपालिकाको हो । त्यही नगरको पुरानो सरकारी अस्पतालको दयनीय अवस्था कसरी यस्तो भएको होला ? सरकारको र स्थानीयको ध्यान नपुगेको होला भन्ने लागिरह्यो ।

    फेरिएको भीम अस्पतालको अवस्था 
    अहिले भने भीम अस्पतालको अवस्था धेरै फेरिएको छ । भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ । अस्पतालका भवनहरु चिरिच्याट्ट छन् । सेवामा उस्तै सुधार भएको छ । भवनमात्र होइन सेवासुविधा पनि थपिदै गएका छन् । यस क्षेत्रका नागरिकले राम्रोसँग स्वास्थ्य उपचार गरिरहेका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ ।

    नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डको लागि गठित समितिको एक वर्षको अवधिमा विभिन्न सूचकांकको आधारमा गरिएको मूल्यांकनमा पनि भीम अस्पतालको सेवा प्रवाहको गुणस्तरीयतामा उल्लेखनीय सुधार देखिएको थियो । एमएसएसले सरकारी अस्पतालको गुणस्तरीयता मापन गर्ने गर्दछ । भैरहवामा सार्वजनिक गरिएको तथ्यांकमा भीम अस्पतालको सेवा प्रवाहको गुणस्तरीयता अब्बल देखाइएको हो ।

    Truck bewasai.jpg

    स्वास्थ्य मन्त्रालयले ५० शय्या क्षमता भएका अस्पताललाई क वर्गमा स्तरीकरण गरी प्रदेश सरकार मातहत राख्ने गरेको छ । सोहीअनुसार क वर्गमा रहेका लुम्बिनी प्रदेशका १२ अस्पतालमध्ये भीम अस्पताल एमएसएसको मूल्यांकनमा दोस्रो नम्बरमा परेको थियो ।

    वि.सं. १९९० मा स्थापना भएको भीम अस्पताल यस क्षेत्रकै पुरानो अस्पताल हो । दक्ष जनशक्तिको अभावबीच पनि सबैको सहयोग र सहकार्यका कारण अस्पतालको सेवामा उल्लेख्य सुधार भएको अस्पतालको प्रमुख तथा मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले बताइन ।दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक, कर्मचारी नहुँदा पनि अस्पतालले सेवाको गुणस्तरीयता र अन्य क्षेत्रमा गरेको प्रगतिले राम्रो सन्देश दिएको छ, मेसु गुप्ताको भनाई छ ।

    Truck bewasai.jpg

    वर्षमा १ लाख बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिने गरेको अस्पतालले ओपिडी सेवासहित २४ घण्टा चिकित्सकीय सेवा प्रदान गरिरहेको डा. गुप्ताले बताइन । उनका अनुसार जिल्लाको रोहिणी, मर्चवार, लुम्बिनी, सिद्धार्थनगर, मायादेवी, सियारी कपिलवस्तु, परासीलगायत ग्रामीण क्षेत्रका जनता स्वास्थ्य सेवा लिन आउने गर्दछन् ।

    भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले पछिल्ला केही वर्ष यता भीम अस्पतालमा थुप्रै सुधारका काम भएको बताए । ५० बेड क्षमताको स्वीकृती पाएर सञ्चालनमा रहेको अस्पतालमा अहिले अक्सिजन प्लान्ट जडान गरिएको छ भने सुविधासम्पन्न आकस्मिक कक्ष (इमरजेन्सी) सञ्चालनमा ल्याइएको अध्यक्ष भण्डारीले जानकारी दिए । भीम अस्पतालमा अहिले विकास समितिबाट ७० बेड थप गरी १२० वेड क्षमतामा सञ्चालन गरिएको छ । अस्पतालमा सिटीस्क्यान सेवा सुरु गरिएको छ भने सरसफाईमा पनि सुधार गरिएको छ । अस्पतालको ल्याब सेवालाई स्तरोन्नति गरिनुका साथै ब्लड बैंकको पनि स्थापना गरिएको छ । 

    अस्पतालको स्तरबद्धि गर्दै अस्पताललाई थप सुविधासम्पन्न बनाउनका लागि केही काम गर्न लागिएको अध्यक्ष भण्डारीले जानकारी दिए । अस्पतालमा उत्पादन हुने फोहर ब्यबस्थापनको लागि अत्याधुनिक मेशिन, भवन निर्माणलगायत बृहत गुरुयोजना अनुसार कामका लागि लुम्बिनी प्रदेश सरकारसँग माग गरेको भए पनि सरकारले बजेटमा कुनै सम्बोधन नगरेको बताए । अध्यक्ष भण्डारीले भीम अस्पतालको विकासका लागि स्थानीय संघ–संस्थाले पनि महत्वपूर्ण सहयोग प्रदान गर्दै आएको बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij