
फलफूलका विरुवा रोपेर फलफूलको आयात प्रतिस्थापन गर्ने लक्ष्य
शुक्रवार , जेठ २६, २०८०
रुपन्देही, २६ जेठ ।
विश्व वातावरण दिवस–२०२३ को अवसरमा लुम्बिनी विश्व शान्ति मञ्च सोमबार काठमाण्डौं जिल्लाको चन्द्रागिरी नगरपालिका र टोखा नगरपालिकामा वृक्षारोपण कार्यक्रम गरेको छ ।
मंच तथा चन्द्रागिरी नगरपालिकाको संयुक्त आयोजना, पन्त ग्लोबल कन्सल्ट्यान्सीको व्यवस्थापन, कृषि विकास बैंक लिमिटेड, दी ब्रिटिस कलेज तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको प्रायोजन, थानकोट जेसीजको सहकार्य र नेपाली सेनाको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’ अन्तर्गत भएको कार्यक्रम चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्य तथा लुम्बिनी विश्व शान्ति मंच को अध्यक्ष वासु गौतमको सभापतित्वमा २०० वटा लप्सी हस्तान्तरण गरी करिब ५० वटा बोट रोपेर वृक्षारोपण गरिएको थियो ।
बाँकी विरुवा साताव्यापी कार्यक्रम अन्र्तगत सम्पन्न गरिने लुम्बिनी विश्व शान्ति मंचका महासचिव धिरेन्द्र पन्तले जानकारी दिए । यसवर्ष चन्द्रागिरी नगरपालिका र लुम्बिनी विश्व शान्ति मंचले १० हजार लप्सीको विरुवा रोप्ने सम्झौता रहेको पन्तले बताए ।
लप्सीबाट तितौरा, अचार तथा अन्य परिकार बनाई आयातलाई प्रतिस्थापन गरीइ निर्यात गरिने लक्ष्यका साथ वृक्षारोपण गरिएको लुम्बिनी विश्व शान्ति मंचकी महिला संयोजक प्रविना रावल पन्तले बताइन् । उनले भनिन्, ‘वृक्षारोपणपश्चात संरक्षणलाई लुम्बिनी विश्व शान्ति मंचले विशेष प्राथमिकता दिने गर्दछ र यसको लागि नेपाली सेना, स्थानीय सरकार, वन उपभोक्ता समिति, मन्दिर व्यवस्थापन समिति र स्थानीय टोल विकास समितिहरुसँग सहकार्य गरिने जानकारी गरिनेछ ।’
सोमबार सांझ नै लुम्बिनी विश्व शान्ति मंच तथा टोखा नगरपालिकाको संयुक्त आयोजना, पन्त ग्लोबल कन्सल्ट्यान्सीको व्यवस्थापन, ज्योति विकास बैंक लिमिटेड तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको प्रायोजन र नन्दन हरिहर मन्दिर वन उपभोक्ता समितिको सहयोगमा वृक्षारोपण कार्यक्रम भएको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्य तथा लुम्बिनी विश्व शान्ति मंच को अध्यक्ष वासु गौतमको सभापतित्वमा २३२ वटा फलफूल (कागती, अम्बालगायत) का विरुवा वन उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । सोमध्ये बुधबार करिब २५ वटा विरुवा रापिएको थियो भने बाँकी विरुवा साताव्यापी कार्यक्रम अन्र्तगत हरिहर मन्दिरमा अवस्थित वन क्षेत्रको झारहरु उखाली सरसफाई गरेर मात्र बवक्षारोपण कार्य गरिने मंचका अध्यक्ष वासु गौतमले बताए ।
यसवर्ष टोखा नगरपालिका र लुम्बिनी विश्व शान्ति मंचले ५ हजार लब्सी, एभोकार्डाे तथा अन्य फलफूलका विरुवाहरु रोप्ने लगभग सहमति भएको मंचका महासचिव तथा प्रवक्ता धिरेन्द्र पन्तले बताए । उनले फलफूलको आयातलाई प्रतिस्थापन गरी निर्यात गर्ने लक्ष्यका साथ वृक्षारोपण गरिएको बताए । उनले भने, ‘वृक्षारोपणपश्चात संरक्षणलाई लुम्बिनी विश्व शान्ति मंचले विशेष प्राथमिकता दिने गर्दछ । लुम्बिनी विश्व शान्ति मंच, वातावरण संरक्षण र शान्ति निर्माण गर्न प्रतिबद्ध अग्रणी संस्थाले विश्व वातावरण दिवस–२०२३ लाई एक उल्लेखनीय वृक्षारोपण कार्यक्रमको साथ मनाएको छ । वन फँडानीविरुद्ध लड्न र हरियाली प्रवद्र्धन गर्ने एकजुट प्रयासमा मंचले वातावरणीय दिगोपनप्रतिको दृढ प्रतिवद्धता देखाउँदै नगरप्रमुख प्रकाश अधिकारीको नेतृत्वमा टोखा नगरपालिकामा वृक्षारोपण अभियान सुरु गरिएको पन्तले बताए ।
लुम्बिनी विश्व शान्ति मंचले सन् २०१९ मा सुरु भएदेखि नै ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’ को अग्रपंक्तिमा रहेको पन्तको दावी छ । संस्थाले हरियाली र दिगो भविष्यका लागि योगदान गर्दै राष्ट्रव्यापी रूपमा रुख रोप्ने र संरक्षण गर्ने आफ्नो अथक प्रयास जारी राखेको जनाएको छ । यस वर्ष मंचले देशैभरी ३५ हजार रुख रोप्ने योजना बनाएको छ । मंचका अनुसार यी वृक्षारोपण गतिविधिहरू स्थानीय सरकारहरू र विभिन्न बैंक तथा वित्तिय संस्थाहरु, बीमा कम्पनीहरु र कर्पाेरेट संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहकार्यमा सञ्चालन भइरहेका छन् । यस वर्ष मंचको लक्ष्य महिला शश्क्तिकरण अभियान अन्तरगत आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढेर आयातमुखी फलफूललाई निर्यातमुखी बनाइ दिगो अर्थतन्त्रतर्फ लक्षित रहेको मंचका अध्यक्ष बासु गौतमले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij