२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

लोकतन्त्र रक्षाका लागि ‘नागरिक आन्दोलन’ को सञ्जाल गठन  

मंगलवार , पौष २८, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • बुटवल, २८ पुस । 
    लोकतन्त्र रक्षाका लागि ‘नागरिक आन्दोलन’ नामक  नागरिक सञ्जाल गठन गरिएको छ । सञ्जालको संयोजकमा मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल, सल्लाहकारहरुमा वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईं, संविधानसभा सदस्य विनोद पहाडी, नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्ध बहादुर थापा, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पाण्डे रहेका छन् ।

    त्यसै गरी सह–संयोजकमा वमेन केयर नेपालकी अध्यक्ष रिता केसी क्षेत्री, सचिवमा पुष्पलाल मित्रता केन्द्र रुपन्देहीका सचिव गुनाराम घिमिरे एवं सदस्यहरुमा रुपन्देहीमा कार्यरत ३५ संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका छन् । 

    उक्त नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटनकाविरुद्ध शान्तिपूर्ण रुपमा सडक संघर्षमा रहेका नागरिक संगठनहरुप्रति ऐक्यवद्धता जनाउँदै साझा नागरिक आन्दोलनमा जोड दिने जनाइएको छ । 

    त्यसै गरी राजनीतिक दलहरु पनि  प्रतिगमनकारी, स्वेच्छाचारी, असंवैधानिक एवं अलोकतान्त्रिक कदमविरुद्ध साझा संघर्षमा उभिन समेत  सबै नागरिकहरुमा हार्दिक अपिल गरिएको छ । उक्त सञ्जालले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी झण्डै दुईतिहाई बहुमतबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र र जनताको हितविरुद्ध असंवैधानिक  रुपमा  प्रतिनिधिसभा विघटन गर्नुले देशमा राजनीतिक र संवैधानिक संकट सिर्जना भएको उल्लेख गरिएको छ । 

    त्यसै गरी विज्ञप्तीमा संविधानको कुनै पनि धाराले अख्तियारी  नदिएको अवस्थामा भएको प्रतिनिधिसभा विघटनले भर्खरै स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई  ठाडो  प्रहार गरेको उल्लेख गर्दै मुलुकलाई संविधानसम्मत मार्गमा हिडाउन आम नागरिकको दायित्व र कर्तव्य हुन आएको बताइएको छ  ।  सञ्जालले लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको छ ।