भैरहवा, ८ जेठ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले पत्रकारिता क्षेत्रको विकास नगरीकन सरकार अगाडि बढ्छ भन्ने कल्पना गर्नु मिथ्या मात्र हुने बताएका छन् । उनले पत्रकारहरुसँग समन्वय गर्दै मन्त्रालय अघि बढ्ने बताए ।
मन्त्रीमा नियुक्त भएपछि रुपन्देहीको बुटवलमा संक्षिप्त प्रतिक्रिया दिदै मन्त्री पाण्डेयले पत्रकारिता क्षेत्रलाई विकसित गर्दै बीमालगायतका व्यवस्था गर्ने बताए । उनले भने, ‘मन्त्रालयले सञ्चारसम्बन्धि कुराहरुलाई व्यवस्थित गर्दै लैजानेछ । ’
मन्त्री पाण्डेयले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले सुशासन कायम गर्ने कुराहरुलाई सम्बन्धित विभाग/कार्यालयहरुसँग समन्वय गरेर अघि बढ्ने बताए ।
सरकारले किन पूर्णता पाउन सकेन भन्ने पत्रकारहरुको प्रश्नमा प्रवक्ता पाण्डेयले बजेटपछि बाँकी रहेका मन्त्रीहरु नियुक्त हुने बताए । उनले भने, ‘सबैकुरा एकैपटक हुँदैन । हामी भोजन गरेपछि पानी खान्छौं । ’
सरकारले बजेट प्रस्तुत गरेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट २/२ जना मन्त्री बन्ने पाण्डेयले बताए । उनले मन्त्रालय थप्दा प्रश्न उठ्ने भएकाले सरकार त्यतातर्फ नलागेको बताए ।
पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलका नेता हुन् ।