२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छ : डा.चन्द्र भण्डारी

सोमवार , पौष २७, २०७७

बुटवल, २७ पुस ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटन संविधानविपरीत रहेको भन्दै उनले सर्वाेच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने समेत प्रष्ट पारे  ।

‘संविधानमा रहेका अस्पष्टताबारे व्याख्या गर्ने सर्वोच्च अदालतले हो, सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई सबैले स्वीकार्नुपर्छ ।’ उनले भने ।

आफ्नै असक्षमताले जनताका पक्षमा कुनै पनि काम गर्न नसकेपछि सरकारले जनतासामु आत्मसमर्पण गरेको उनको भनाइ छ ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै उनल भने– ‘हामीले बनाएको संविधानमा अन्तिम फैसला गर्ने अधिकार सर्वाेच्च अदालतको रहनेछ भनिएको छ, त्यसैले अदालतले संसद पुनस्र्थापना गरेमा वा निर्वाचन गर भनेमा जे भने पनि सबै दलले मान्नुपर्ने छ, अहिले देश क्राइसिसमा छ, क्राइसिसका बीचबाट अवसरहरु पैदा गर्नुपर्छ ।’ उनले सर्वाेच्चमा विचाराधिन विषयमा पूर्व प्रधानन्याधिशहरुले बोल्नु गलत भएको बताए ।

‘विधिको शासन र व्यवस्थाप्रति विस्वास गर्नेहरुले नै संसद विघटनका बारेमा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको विषयमा बोल्नु हुँदैनथियो ।’ उनले भने । वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकिरहेको अवस्थामा केपी ओलीले संसद विघटन गर्नु सकारात्मक भएको समेत उनले बताए ।

‘अब हुने निर्वाचनबाट नेपाली जनताले यस्ता काम गर्न नसक्ने असक्षम दल र नेतालाइ बिदाई गर्नेछन्, त्यसैले यो अवसर पनि हो ।’ उनले भने । करिब दुईतिहाई बहुमतकोसहितको नेकपाको सरकार असफल भएकाले अब जनताले नया आफै मूल्यांकन गरेर फैसला गर्ने उनले बताए । 

भण्डारीले भने–‘कोरोनाका बेला पनि नेकपाभित्र जनजीविकका सवाल भन्दा पनि बढी कुर्सी र पदकै लागि झगडा भइरह्यो, यो सरकारले कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक हो ।’ अहिलेका नेताहरु असक्षम भएकाले अबको निर्वाचनबाट सबैलाइ फकाइफकाइ बिदाइ गर्नुपर्छ र अभिभावक बनाएर राख्नुपर्ने भण्डारीको भनाइ छ ।

नेता भण्डारीले नेपाली कांग्रेसको महाधिवेशन भदौभित्र गरिसक्नुपर्ने भन्दै उनले सक्रिय सदस्यताको विवाद माघसम्म टुंगिने उनले बताए । देश र संविधान धरापमा भएकाले कांग्रेसले मात्रै यसको समाधान गर्ने र देशलाइ बचाउने उनको दावी छ । 
फरक प्रसंगमा भण्डारीले आफुले अखण्ड लुम्बिनीको पक्षमा बोल्दा आफुलाई सबैतिरबाट खेदिएको र निर्वाचनमा हराउन गुल्मीमा निर्वाचन क्षेत्र नै काटेर यताउता समेत गरिएको स्मरण गरे ।

साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।