२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

‘पर्ख र हेर’ को स्थितिमा छौं : महन्थ ठाकुर

आइतवार , पौष २६, २०७७

भैरहवा, २६ पुस ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले संसद पुनस्र्थापनाको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकोले न्यायलयको निष्पक्षता तथा न्याय निरुपणमा पूर्ण विश्वास राख्दै पार्टी ‘पर्ख र हेर’ को स्थितिमा रहेको बताएका छन् । उनले अगाडीको रणनीति त्यसपछि मात्र निर्धारण गरिने बताए । जसपाले ओली नेतृत्वको सरकारको असंवैधानिक तथा अलोकतान्त्रिक कदमको पुस ८ गतेदेखि नै विरोध गर्दै आएको उनले बताए ।

आइतबार भैरहवामा पत्रकारहरुसंग कुराकानी गर्दै ठाकुरले बहुमतप्राप्त सरकारले नै संसद विघटन गराएको बताए । उनले संविधान बनाउनेले नै संविधानको उल्लघंन गरेको आरोप लगाए । संघीयता विरोधीकै नेतृत्वमा सरकार बनेको ठाकुरले दावी गरे । प्रतिनिधिसभा विघटन गराउने प्रधानमन्त्रीको कदमका कारण जसपा आन्दोलनमा जान बाध्य भएको उनले बताए ।

‘विगतदेखि नै हामीले संविधान अपुरो रहेकोले असन्तुष्टि राख्दै आएका छौं, संविधान पूर्ण रुपमा स्वीकार गरेका छैनौ, संविधान संशोधन गर्ने सहमति हामीसंग गरियो, हामीलाई चेक दिइयो तर चेक बाउन्स भयो, अब हामीलाई क्यास चाहिन्छ, विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गरिएन, ’ठाकुरले भने ।

प्रधानमन्त्री केपी ओलीले औचित्य र आवश्यकताको आधारमा संविधान संशोधन गरिन्छ भन्ने अभिव्यक्ति दिएर संविधान संशोधन मुद्दालाई डाइभर्ट गर्न खोजेको उनले बताए ।

राजनीतिक मुद्दालाई राजनीतिक माध्यमबाट हल गर्नुपर्ने भएकोले रेशम चौधरीसहित सबै बन्दीलार्ई रिहा गर्नुपर्ने उनको भनाइ छ । 

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले स्वतन्त्र न्यायपालिकाको सम्मान गर्दै अगाडी बढ्ने बताए । उनले जसपा चुनावबाट नभागेको भए पनि अहिले आन्दोलन नै पार्टीको लक्ष्य भएको बताए । जसपाका केन्द्रीय सदस्य देवेन्द्र पाण्डेय ‘सागर’ को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।