२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

कोरोना महामारीमा सरकारले राहत प्याकेज ल्याएन : बालकृष्ण खांण

शनिवार , पौष २५, २०७७

भैरहवा, २५ पुस । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री बालकृष्ण खांणले कोरोना महामारीमा ओली नेतृत्वको सरकारले जनताको लागि कुनै राहत प्याकेज ल्याउन नसकेको बताएका छन् । उनले राहत प्याकेजको ठाउँमा सरकारले आहात प्याकेज ल्याएको बताए ।

संसद विघटनविरुद्ध नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३(क)ले शनिबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै खांणले महामारीमा सरकारले राहत प्याकेज नल्याउँदा मजदूर, किसान, व्यवसायी, शिक्षक, प्राध्यापक सबैले दुःख पाएको बताए । उनले उखु कृषकहरुले पैसा नपाएको र आन्दोलनकै क्रममा उखु कृषकको ज्यान जानु दुःखद भएको बताए ।
‘कम्युनिष्ट शासन भोग्न नपरोस् भन्ने हाम्रो बाजेहरुले भन्नुहुन्थ्यो, साँच्चै त्यस्तै रहेछ, उद्योगी, व्यापारी, कर्मचारी सबैले भोग्नुपरेको छ, ’खांणले भने । नेपालमा कम्युनिष्टहरुले जनविरोधी काम गरिरहेको उनको भनाइ थियो । नेपाली कांग्रेसले राम्रो कामलाई साथ दिने तर गलत कार्यको विरोध गर्ने उनले बताए । 

‘कांग्रेसले विगतमा राणा शासन, राजा महेन्द्र, पञ्चायतको विरोध गरेको थियो, अहिले कम्युनिष्टको विरोध गरिरहेको छ,’ उनले भने । कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएको बेला प्रदेश ५ को राजधानी रुपन्देही तोके पनि कम्युनिष्ट नेतृत्वको सरकारले राजधानी दाङ सारेको उनले बताए । संसद विघटन जस्तो असंवैधानिक कदम चालेर ओली नेतृत्वको सरकारले जनतालाई हकअधिकारबाट वञ्चित गर्न खोजेको उनले आरोप लगाए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्याल, महासमिति सदस्य देवी प्रसाद चौधरी, कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, जिल्ला सदस्य सुरेन्द्र जंग थापा, क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादव, सचिव शुशिल गुरुङ, कांग्रेस सिद्धार्थनगर सभापति दिलिप धिताल, नेपाली कांग्रेस खेलकुद विभागका केन्द्रीय सदस्य भरत बहादुर के.सी., नेपाल विद्यार्थी संघ सिद्धार्थनगर सभापति प्रतिक भण्डारी, नेपाल प्राध्यापक संघ भैरहवा बहुमुखी क्याम्पस सभापति शंकर पन्थी लगायतले बोल्दै संसद विघटन गैरसंवैधानिक कदम भएकोले संसद पुनस्र्थापना हुनुपर्ने माग गरे ।

कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ (क)का सभापति पुरन प्रसाद श्रेष्ठको सभापतित्व, उपसभापति सुभद्रा पौडेलको स्वागत तथा सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।