२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

संसद विघटन जनताको अधिकारमाथि कुठाराघात : महन्थ ठाकुर

शनिवार , पौष २५, २०७७

भैरहवा, २५ पुस ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले संसद विघटनले जनताको अधिकारमाथि कुठाराघात गरेको बताए । उनले ५ वर्षको लागि निर्वाचित संसद विघटन गर्ने कार्य असंवैधानिक कदम भएको बताए ।

संसद विघटनको विरोधमा जसपा केन्द्रीय कार्यसमितिले शनिबार भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता ठाकुरले कोरोना महामारीमा मुलुकमा बेरोजगारी बढेको, स्वास्थ्य र शिक्षा क्षेत्र प्रभावित भए पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको बताए । उनले विगतको मधेश आन्दोलनमा सरकारले गोली हानेर नागरिकको हत्या गरेको आरोप लगाए । आन्दोलनमा महिलामाथि समेत आक्रमण गरिएको उनको भनाइ थियो ।

सत्ताधारी दलले सबै क्षेत्रलाई नसमेटिकन संविधान जारी गरेकोले अहिले समस्या देखिएको बताए । उनले सतारुढ दलले आफ्नो स्वार्थ अनुसार अगाडी बढेकोले नागरिकले दुःख पाएको दावी गरे । 

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री महेन्द्र राय यादवले जसपाले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको बताए । उनले संविधान अपुरो भएकोले यसलाई सर्वस्वीकार्य बनाउनुपर्ने बताए । उनले जसपा  निर्वाचनबाट भाग्ने र डराउने अवस्था नरहे पनि अहिले निर्वाचनको समय नरहेको बताए । उनले राजनीतिक स्थिरताका लागि सर्वप्रथम संसद पुनस्र्थापना हुनुपर्ने बताए ।
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले मुलुकको लागि हितको लागि नभइ सतारुढ दलभित्रको आन्तरिक लडाइका कारण प्रधानमन्त्री केपी ओलीले संसद विघटन गराएको बताए । 

कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दान बहादुर चौधरी, पूर्वमन्त्री मोहम्मद वकिल मुसलमान, केन्द्रीय सदस्य कमल खनाल, अजय वर्मा, निलम यादव, लुम्बिनी प्रदेश सचिवालय सदस्य मोहम्मद इस्लामले बोल्दै असंवैधानिक कदम चालेर ओली नेतृत्वको सरकारले जनताको हकअधिकार खोस्न खोजेको बताए ।