२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी तीव्र

सोमवार , बैशाख ११, २०८०

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • बुटवल, ११ वैशाख ।

    पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानूनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानून बनाउन राजयको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ ।

    बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को नेतृत्वमा जेठ ६ र ७ गते हुन लागेको सम्मेलनको तयारी तीब्र पारिएको छ । 

    धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानून बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको मणिमुकुन्दसेन उद्यानका अध्यक्ष खेम लुइटेलले बताए ।

    पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र सौन्दर्यताका लागि पार्कहरुको ठूलो महत्व भए पनि राज्यले कानूनी रुपमा कुनै सम्बोधन नगरेको सम्मेलनले कानुन निर्माणमा तिनै तहका सरकारलाई दबाब पुग्ने अपेक्षा गरिएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए ।

    नेपालको आर्थिक समृद्धिका लागि पर्या–पर्यटन एक महत्वपूर्ण पक्ष भएकाले वन क्षेत्रभित्र सञ्चालित पार्कहरुलाई सहज रुपले काम गर्न ठोस नीतिगत व्यवस्थाको पहलका लागि सम्मेलनले पार्कहरुको राष्ट्रियस्तरको संजाल निर्माण गर्ने सम्मेलनका प्रचार संयोजक डीआर घिमिरेले बताए ।

    पार्क व्यवस्थापनमा नीतिगत समस्या र कानूनी जटिलताका विषयमा संविधानविद् काशीराज दाहालले कार्यपत्र पेश गर्ने छन् । समुदायबाट सञ्चालित पार्कहरुलाई लगाइएको मूल्य अभिवृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माण कार्यका सम्बन्धमा रहेका जटिलताका विषयमा पनि सम्मेलनमा छलफल हुने छ । 
    देशभरका करिब सयवटा पार्कका व्यवस्थापन समितिका पदाधिकारी सहभागी हुने सम्मेलन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने भएकाले प्रदेशका स्थानीय तह र प्रदेश सरकारसँग सहयोगका लागि पहल गरिएको सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले जानकारी दिए ।
    सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्रसमेत जारी गर्ने उनले बताए  ।