
बिहिवार , पौष २३, २०७७
बुटवल, २३ पुस ।
नेपाल औषधी व्यवसायी संघ रुपन्देही शाखा अन्र्तगत बुटवल क्षेत्रका व्यवसायीहरुलाई बिहीबार बुटवलमा खुद्रा भेला सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले खुद्रा औषधी व्यवसायीहरु पेशाप्रति वफादार, व्यवस्थित र उत्तरदायी बन्नुपर्ने सुझाव दिएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय उपाध्यक्ष (खुद्रा) रामप्रसाद खरेलले केवल नाफा कमाउने र विक्री गर्ने कामसंगै व्यवसायीहरु आन्तरिक व्यवस्थापनमा जोड दिन सुझाव दिए । खुला सीमाका कारण भारतीय औषधीको दबदबा बजारमा रहेको उनले बताए । त्यसै गरी होलसेल विक्रेता र खुद्रा औषधी विक्रेताहरुबीच द्वन्द्वले आम उपभोक्ता मर्कामा पर्ने उनले बताए ।
रुपन्देहीमा हरेकजसो क्षेत्रमा फरकफरक समस्याहरु रहेको संघका अध्यक्ष सुरज भट्टराईले बताए । पछिल्लो समय रुपन्देहीका विभिन्न स्थानमा गरिएको अन्तरक्रियाको क्रममा लुम्बिनी क्षेत्रमा झोले चिकित्सक, भैरहवा क्षेत्रमा भारतीय औषधी लगायतको समस्या देखिएको उनले बताए ।
संघका विशेष सल्लाहकार लोकहरि श्रेष्ठ, डा.रोहितराज क्षेत्री, सल्लाहकार बैकुण्ठ कोइराला, महासचिव पुरुषोत्तम भट्टराईले पेशालाई संगठित, ब्यवस्थित र मर्यादित बनाउन सुझाव दिए । मुख्य रुपमा सामाजिक समस्या, एकआपसमा व्यवसायीबीच द्वन्दको समस्या, खुद्रा र थोक व्यवसायीबीच समस्या तथा नीतिगत समस्या गरी ४ प्रकारका समस्या अहिले देखिएको उनीहरु बताउँछन । फुट सप्लिमेन्ट्री र कस्मेटिक औषधी विक्रीमा विरामीहरु डिस्काउन्ट, औषधीको म्याद सकिने लगायतका समस्यालाई समाधानका बाटा खोल्न उनीहरुको सुझाव छ । कतिपय कस्मेटिक उपचार र औषधी राख्नुपर्ने बाध्यता रहे पनि यसबाट फाइदा नहुने उनीहरु बताए ।
‘गुणयुक्त असरयुक्त, जनसुरक्षित औषधीको आपुर्ति, हाम्रो प्रतिवद्घता’ नारासहित स्थापना भएको संघले व्यवसायिक हितका लागि क्षेत्रगत ४ वटा भेला, सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान, आर्थिक सहयोग लगायतका कार्यक्रमहरु गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij