
बुधवार , पौष २२, २०७७
भैरहवा, २२ पुस ।
रुपन्देहीका डेढ दर्जन संघ–संस्थाले एक संयुक्त विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको गरेको संसद विघटनले राजनैतिक अस्थिरताको पुनरावृति गर्ने बताएका छन् । उनीहरुले दशकौदेखि हुन नसकेको राजनैतिक स्थिरता हुने आशा बढिरहेको बेला भएको संसद विघटनले नेपाली जनता स्तब्ध र मर्माहत भएको समेत बताएका छन् ।
उनीहरुले विज्ञप्तीमा भनेका छन, ‘विगतमा राजनैतिक अस्थिरताकै कारण मुलुकले विकासमा फड्को मार्न सकेको थिएन । यद्यपी लामो राजनीतिक संघर्षको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र नया संविधानसंगै नेपाली जनताले आशाका किरणहरु देख्न थालेका थिए । मुलुक स्थिर राजनीतितर्फ अगाडी बढ्दै दीगो विकास र शान्ति तर्फ उन्मुख भइरहेको बेला एकाएक प्रतिनिधिसभा विघटन गर्ने कदमले संविधान र लोकतन्त्रलाइ गम्भिर आघात पुर्याएको छ । ’
पत्रकार, उद्यमी तथा व्यवसायी, खेलकुद क्षेत्रका विभिन्न सामाजिक संघ–संस्थाले संयुक्त रुपमा निकालेको विज्ञप्तीमा संसद विघटनले देशमा राजनीतिक अस्थिरताको पुनरावृति गर्ने पनि उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘कोरोना महामारीको बेला आम जनतामा त्रास सृजना गर्ने गरी भएको घटनाक्रमले आर्थिक संकट समेत निम्ताउनेछ । ’
विज्ञप्तीमा कोरोना कहरबाट जनतालाई सुरक्षित गराउनुको साटो चुनाव घोषणा गरेर चुनावको नाममा अर्बौ खर्चिने योजना बनाउनु विडम्बनापुर्ण भएको उल्लेख गरिएको छ ।
उक्त विज्ञप्तीमा स्थायीत्व, समृद्धि, विकास, सुशासन र दीगो शान्तिको लागि विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्दै राजनैतिक दललाई राष्ट्रिय एकता कायम गर्दै अगाडी बढ्न समेत अपिल गरिएको छ ।
संयुक्त विज्ञप्तीमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, उद्योग व्यापार संगठन रुपन्देही अध्यक्ष नारायण प्रसाद भण्डारी, घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य ज्ञानु पौड्याल, एडभोकेसी फोरम नेपाका प्रदेश संयोजक शिव प्रसाद गौडेल, लुम्बिनी प्रेस क्लबको अध्यक्ष नरेश के.सी, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही अध्यक्ष गणेश प्रसाद बेलबासे, मुद्रण उद्योग संघ रुपन्देही अध्यक्ष गोपाल खनाल, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेत, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष मनिष कुमार जोशी, नेपाल भारत मैत्री संघ अध्यक्ष श्रीचन्द गुप्ता लगायतले हस्ताक्षर गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij