
शनिवार , पौष १८, २०७७
बुटवल, १८ पुस ।
प्रेस संगठन नेपाल रुपन्देहीले विद्यमान राजनीतिक परिस्थितिका कारण अन्यौलमा रहेका सबै पत्रकारहरुलाई संगठनमा एकतावद्ध हुन आह्वान गरेको छ । विषम परिस्थितिका कारण अन्यौलमा रहेका पत्रकारहरुलाई पेशागत हकअधिकारको रक्षाका लागि प्रेस संगठनमा एकताबद्ध भएर भूमिका खेल्न आह्वान पनि गरेको छ । साथै बैठकले सरकारका राम्रा कामको समर्थन गरी सकारात्मक प्रचार गर्ने र नकारात्मक कामलाई खबरदारी गर्ने निर्णय पनि गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले मुलुक विषम राजनीतिक परिस्थितिबाट गुज्रिएकाले प्रेस संगठनमा आबद्ध पत्रकारहरुको जिम्मेवारी र भूमिका अरु बढेको बताएका छन् ।
नेकपाका केन्द्रीय सदस्य, रुपन्देही इ१चार्ज एवं लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रधानमन्त्रीले बाध्यात्मक अवस्थामा गरेको संसद विघटनलाई जनतामाझ बुझाउने काम पत्रकारहरुको रहेको भन्दै यसतर्फ रचनात्मक भूमिका खेल्न आग्रह गरे । उनले भागवण्डा र स्वार्थको राजनीतिले देशलाई अस्थिरतामा लैजान नहुने भन्दै यसका लागि भ्रम चिरेर अगाडि बढ्नुपर्ने दायित्व पत्रकारहरुको काँधमा आएको बताए ।
अर्का केन्द्रीय सदस्य एवं रुपन्दीका सह–इञ्चार्ज दधिराम न्यौपानेले बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन अन्तर्राष्ट्रिय प्रचलन रहेको भन्दै यसलाई असंवैधानिक भन्ने अधिकार अदालत बाहेक अरु कसैलाई नभएको बताए । आफैले सर्वसम्मत बनाएको पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई नीहित स्वार्थपुर्तिगर्ने उद्देश्यले सडकमा ल्याउन खोज्ने नेताहरु आफै सडकमा पुगेको भन्दै उनले सही विचार र दृष्टिकोणका आधारमा आफू मूल धारमा अडिग रहन पुगेको बताए ।
नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही अध्यक्ष शिवराज सुवेदीले मूल घर छाडर जानेहरु कमजोर भएपछि स्वतः फर्किने भन्दै स्पष्ट विचार र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्ने र पत्रकारहरुले रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।
नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले प्रेस संगठनलाई एकताबद्ध बनाएर जनतामाझ छरिएका भ्रम चिर्नुको विकल्प नरहेको भन्दै नीति, सिद्धान्त र विचारलाई आत्मसात गर्नहरु कहिले पनि विभाजित नहुने बताए ।
बैठकमा प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, प्रेस संगठनका केन्द्रीय सदस्य एवं पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष भरत केसी, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, प्रेस संगठन रुपन्देहीका संयोजक अमृत गिरी, सदस्य लक्ष्मण पौडेल लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सफल पार्न सक्रियतापुर्वक सहभागिता जनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले उपयुक्त समयमा संगठन रुपन्देहीको विस्तारित भेलाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij