
आइतवार , फाल्गुण २८, २०७९
काठमाडौं, २८ फागुन ।
राजनीतिक नेतृत्व सत्ता संघर्षमा लाग्दा सरकारहरु टिकाउ हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित सत्ता संघर्ष पुस्तक हस्तान्तरण कार्यक्रममा वक्ताहरुले राजनीतिक स्थायित्व नहुँदा विकास र सुशासनमा असर परेको बताए ।
पत्रकार भण्डारीको पुस्तक सत्ता संघर्ष काभ्रेको रोशी गाउँपालिकाका जनप्रतिनिधिलाई एक समारोहकाबीच हस्तान्तरण गरिएको हो । रोशी गाउँपालिका सिपाली, कोटथुम्काका बासिन्दा र हाल अमेरिका निवासी विश्व रक्तदाता अर्जुनप्रसाद मैनालीले आफ्नो पालिका कार्यालय, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा रोशी माविका प्रअका लागि पुस्तक सौजन्य गरेका हुन् ।
कार्यक्रममा पुस्तक हस्तान्तरण गर्दै सत्ता संघर्षका लेखक रामकृष्ण भण्डारीले राजनीतिक स्थायीत्व भए मात्रै मुलुक विकास र समृद्धिको बाटोमा अघि बढ्ने बताए । राजनीति समाजसेवा भए पनि नेतृत्व तहमा सत्ताको हानथाप हुँदा जनस्तरसम्मै त्यसको नकारात्मक असर परेको बताउँदै उनले सत्ता संघर्षभन्दा विकास र सुशासनमा राजनीतिक दलहरु केन्द्रित हुनुपर्नेमा जोड दिए ।
लेखक भण्डारीले नेपालको राजनीतिबारे जान्न सत्ता संघर्ष निकै उपयोगी हुने ठानेर मैनालीले जनप्रतिनिधिलाई पुस्तक पढ्ने वातावरण मिलाएको बताएको जानकारी दिए ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले राजनीतिले लय समाउन सके जनताले त्यसको प्रत्याभूति गर्न पाउने बताए । स्थानीय तहमा आफूहरुले राजनीतिक खिचातानीभन्दा विकास र जनसेवालाई प्राथमिकता दिएको बताउँदै उनले पठन संस्कृति हराउँदै गएको बताए ।
राजनीतिक परिवेश बुझ्न र विगतका बेथितिबाट सच्चिन सत्ता संघर्षले मार्गनिर्देश गर्ने उनको भनाई थियो ।
अध्यक्ष लामाले विश्वभर रक्तदान गरेका मैनाली काभ्रे र रोशीको विकासका लागि समेत सहयोगी भएको बताए । त्यस अवसरमा काभ्रेका वरिष्ठ पत्रकार मधुसुदन गुरागाईँले नेपालको राजनीतिबारे बुझ्का लागि सत्ता संघर्ष सबैले पढ्नैपर्ने बताए । नेपालको राजनीतिक परिवेश झन अस्थिर हुँदै गएको भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिले राजनीतिक स्थायीत्वका लागि दबाब दिनुपर्नेमा पनि जोड दिए ।
त्यस अवसरमा मैनालीबारे लेखिएको अर्जुन मैनालीको रक्तदान नामको पाँचसय प्रति पुस्तक पनि गाउँपालिका अध्यक्ष लामामार्फत रोशी माविलाई हस्तान्तरण गरिएको थियो ।
त्यसै गरी अर्जुनप्रसाद मैनालीले आफ्नो जन्मस्थल सिपाली, कुखुरेपाखामा रहेको ठाकुरस्थान आधारभूत विद्यालयका लागि २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।
उक्त रकम गाउँपालिका अध्यक्ष लामामार्फत वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य नारायणबहादुर शिवाकोटीलाई हस्तान्तरण गरिएको थियो । मैनालीले आफू अमेरिकामा भए पनि गाउँको विद्यालयको पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगोस् भनेर रकम पठाइदिएका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij