
शुक्रवार , पौष १७, २०७७
काठमाडौं, १७ पुस ।
काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्वीट्सले विक्री गरेको लड्डुमा मंगलबार मानिसको नङ भेटियो । नेपाल प्रहरीका एक जना हाकिमले आफ्नो बढुवाको खुशीयालीमा बाँडेको लड्डुमा नङ भेटिएको घटना यतिबेला चर्चामा छ ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवाको खुशीयालीमा डा. देवबहादुर बोहोराले आँगनबाट दुई किलो मिक्स मिठाइ किनेका थिए । जसमध्ये एउटा लड्डुमा नङ फेला पर्यो । सामान्यतया उपभोक्ताको जीवनमा यस्ता घटना दिनहुँ भइरहन्छन् तर प्रहरीको हाकिमले किनेको लड्डुमै नङ भेटिएका कारण यो घटनाले चर्चा पायो ।
प्रहरीकै उजुरीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आँगन मिठाई भण्डारबाट नमूना संकलन गरेर अध्ययन थालेको छ । आँगनको पसल र उत्पादनस्थलमा केही अखाद्य वस्तु पनि भेटिएको विभागले जनाएको छ । नमूना प्रयोगशालामा पठाएर पसल सञ्चालकलाई तीन दिनभित्र हाजिर हुन भनिएको प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।
मिठाईमा नङको टुक्रा पाइनु भनेको हेलचेक्र्याईंको पराकाष्टा भएको विभागका अधिकारीहरु बताउँछन् । कुनै पनि खाद्य पदार्थमा हुनुपर्ने गुण र तत्वबाहेकका अन्य मिसावट हुनै नहुने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत समेत रहेका प्रवक्ता महर्जन बताउँछन् ।
विगतका वर्षहरुमा मिठाईमा अखाद्य रंग मिसाउने समस्या धेरै देखिएको थियो । अहिले रौं, नङ भेटिनु मानवीय असावधानी हुन सक्ने उनले बताए । ‘लड्डुमा नङ काटेर हाल्दै हिंड्ने त कसैले पनि गर्दैन, असावधानीले नै यस्तो भएको हुनसक्छ’, महर्जनले भने, ‘जुन कुनै कारणले भए पनि उपभोक्तालाई अखाद्य वस्तु विक्री गर्ने छुट भने कसैलाई छैन ।’ मिठाईमा नङ भेटिएको घटनाका सम्बन्धमा आँगन स्वीट्सले भने प्रतिक्रिया दिन चाहेन ।
उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँ भन्छन,–खाद्य स्वास्थमा सरकारी निकाय कमजोर बन्यो, भएका कानुनहरु कमजोर छन् । विश्वका अन्य मुलुकमा यस्ता अपराधविरुद्ध कडा कानुनी व्यवस्था छ, नेपालमा भने नियामक र व्यापारीको घाँटी जोडिन्छ ।
अखाद्य वस्तु मिसावटको श्रृंखला
मंगलबार नै भटमासको तेललाई तिलको भनेर विक्री गर्ने वीरगंजका दुई जना व्यापारी पक्राउ परे । भटमासको तेललाई १५ लिटरको जर्किन र प्याकेटमा रि–प्याकिङ गरेर बेच्ने शिवशक्ति रि–प्याकिङ उद्योग सञ्चालक दीपक कुमार वर्णवाल र दिव्य रि–प्याकिङ उद्योगका राजन कुमार वर्णवाल हुन् । गत कात्तिक १ गते वाणिज्य विभागमा एक उपभोक्ताले पठाएको भिडियो गुनासोमा पानीको जारमा किराका बथान थिए । गुनासो सुनुवाई गर्न विभागले तत्कालै टोली खटाउँदा काठमाडौंको टोखास्थित शुभलक्ष्मी फूड एण्ड वेभरेज कम्पनीले गुणस्तरहीन पानी विक्री गरेको पेला पार्यो । दर्ता नै नभएको उक्त पानी उद्योगले जमिन मुनिको पानी सामान्य फिल्टर गरेर उपभोक्तालाई बेचेको पाइएको विभागका तत्कालीन निर्देशक रवीन्द्र आचार्य बताउँछन् ।
केही प्रतिनिधि घटना मात्र हुन् यी । खाद्य वस्तु तथा पेय पदार्थमा उपभोक्ता ठगिने घटना दिनहुँ हुने गरेका छन् । क्षमताले भ्याएसम्म अनुगमन र कारबाही गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको दावी छ ।
चालु आर्थिक वर्षको चार महिनामा देशभरबाट ११ सय ८९ उजुरीको नमूना संकलन गरिएकोमा ७० वटा नमूनामा अखाद्य मिसावट पाइएको विभागले जनाएको छ । यस्तै अखाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३४ उद्योग तथा व्यवसायको कारोबार रोक्का राखिएको, २६ वटा उद्योगबिरुद्ध मुद्दा दायर गरेको विागका प्रवक्ता महर्जन बताउँछन् । मुद्दा दायर भएकामध्ये खानेपानीको सबैभन्दा धेरै ५, खाने तेलका तीन, मिठाईका दुईसहित अन्य भएको उनले बताए ।
वाणिज्यमा पनि उजुरीको चाङ
उपभोक्ता हित बाहिरको काम गरेका उद्योग, व्यवसायी तथा फर्मविरुद्ध वार्षिक चार हजारभन्दा धेरै उजुरी आउने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
गत वर्ष ४४ सय उजुरी आएकोमा र चालु आवको पाँच महिनामा उपभोक्ता हित विपरीत काम भएका १२ सय उजुरी हटलाईनमार्फत आएको विभागका प्रवक्ता शिव सेंढाईले बताए । ‘आएका उजुरीमध्ये आधा भन्दा धेरै खाद्य पदार्थको गुणस्तर तथा मूल्यसँग सम्बन्धित छन्,’ उनले भने । दैनिक तीनदेखि चार वटासम्म टोलीले काठमाडौं उपत्यकामा अनुगमन गर्दा पनि पर्याप्त नभएको उनको स्वीकारोक्ति छ । उपभोक्ता संरक्षण ऐन अनुसार प्रदेश, स्थानीय तथा अन्य कानुनमा टेकेर जिल्ला प्रशासन कार्यालयमार्फत पनि अनुगमन बढाएको प्रवक्ता सेंढाईले बताए ।
उपभोक्ता अधिकारकर्मीको भनाइ
मिठाई लगायतका खाद्य वस्तुमा हुने मिसावट तथा अखाद्य वस्तुले उपभोक्ताको स्वास्थ्यमा गम्भीर प्रश्न उठेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । सरकारले खाद्य स्वच्छताको काम प्रभावकारी ढंगले अघि नबढाउँदा यस्ता समस्या बढेको उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँ बताउँछन् ।
‘खाद्य स्वास्थमा सरकारी निकाय कमजोर बन्यो, भएका कानुनहरु कमजोर छन्’, बानियाँ भन्छन्, ‘विश्वका अन्य मुलुकमा यस्ता अपराधविरुद्ध कडा कानुनी व्यवस्था छ, नेपालमा भने नियामक र व्यापारीको घाँटी जोडिन्छ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन प्रभावकारी नहुनु नै यसको मुख्य कारण भएको अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । ‘नियामक निकाय निरीह भयो, उपभोक्तामुखी भएन,’ तिमिल्सिनाले भने । (अनलाइनखबर)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij