२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

६४ औं स्थापना दिवस मनाउँदै बुटवल उपमहानगरपालिका

मंगलवार , फाल्गुण २, २०७९

बुटवल, २ फागुन । 
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले ६४ औं स्थापना दिवस मनाउँदैछ । बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । 

स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको बुटवलले बुधबार मूल समारोह तथा सम्मान कार्यक्रम आयोजना गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनकाअनुसार सप्ताहव्यापी कार्यक्रमअन्तरगत अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल, पत्रकार र राजनीतिक दलबीच भलिबल, कर्मचारीहरुका बीचमा भलिबल, टेबुलटेनिस, घैटोफोरलगायतका कार्यक्रम सम्पन्न भएका छन् । 

नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा स्थानीय राजनीतिक दल, सामाजिक संस्थाका प्रतिनिधिलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।

बुधबार मूल कार्यक्रममा बुटवलभित्रका उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट टोल विकास संस्था, उपभोक्ता समिति, उत्कृष्ट निर्माण व्यवसायीलगायतलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिइन् । 

यस्तै, मूल समारोहकै अवसरमा विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गर्ने र सहभागीमध्ये उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । 

मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व

तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६–२०१७ साल) गरे । शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९–२०२३ साल), परीक्षितप्रसाद लाकौल (२०२४–२०२६ साल), सरस्वतीप्रसाद शेरचन (२०२६–२०२८ साल र पुनः २०३३ देखि २०३६ साल), हरिबहादुर सिंह (पहिलो पटक २०२८मा प्रधानपञ्चमा र यो सहित चार–पटकसम्म प्रधानपञ्च), सूर्यलाल वि.सं. (२०३०), बृजमान श्रेष्ठ (२०३६–२०३९) प्रधानपञ्च भए । 

प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोज प्रसाद श्रेष्ठ (२०५४–२०५९) नगरप्रमुख भए । सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरेका थिए । माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनावबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बनेपनि लोकतन्त्र स्थापनापछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो । 

५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख भई कार्यभार सम्हाले । नेपालको संविधान कार्यान्वयन भएपछिको दोस्रो कार्यकालका लागि २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगरप्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रादेवी अर्याल निर्वाचित भएका छन् ।

बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म

पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चायत भनिएपनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालिएको थियो । २०७१ साल मंसिरमा उपमहानगरपालिकामा स्तरोन्नति भएको बुटवल पश्चिम नेपालकै प्रमुख शहरका रुपमा परिचित छ । विगतमा अहिलेको मुख्य बजार भन्दा तिनाउ पारी थियो बटौली बजार । २० को दशकतिर वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा स¥यो । 
खस्यौलीमा पूर्वाधारहरु थपिदैँ गएपछि बजारले बुटवल शहरको रुप लियो । बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो ।

पछिल्लो समय बुटवल मुलुकको महत्वपूर्ण अनि पूर्वाधारयुक्त शहरको रुपमा स्थापित भएको छ । ६ लेनका फराकिला सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलजस्ता राष्ट्रिय स्तरका संरचनाले बुटवलको प्रतिष्ठा बदल्दैछ । देवीनगर, मगरघाटमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ । बुटवल भौतिक पूर्वाधारमा मात्रै नभई मानव संसाधनका दृष्टिले अगुवा शहरका रुपमा स्थापित हुने नगर प्रमुख खेलराज पाण्डेय बताउँछन् । ‘यो ५ वर्षमा बुटवलले आफुलाई देशकै अगुवा शहरका रुपमा स्थापित गर्नेछ, उहाँले भन्नुभयो–बुटवल बर्दघाटदेखि चन्द्रौटासम्मको नेतृत्व गर्ने केन्द्रका रुपमा स्थापित हुने क्रममा रहेको छ ।’