२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता अपरिहार्य : लुम्बिनी प्रेस क्लब

बिहिवार , पौष ९, २०७७

भैरहवा, ९ पुस ।
लुम्बिनी प्रेस क्लबले मुलुकमा वर्तमान अवस्थामा देखिएको राजनैतिक र संवैधानिक संकटप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार भैरहवामा बसेको प्रेस क्लबको कार्यसमिति बैठकले मुलुकमा देखिएको संकटप्रति दुःख व्यक्त गर्दै तत्काल यसको निकास निकाल्न सबै राजनैतिक दलमा आग्रह गरेको छ । 

पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि मुलुकमा अहिले राजनैतिक र संवैधानिक संकट देखिएको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको छ । प्रेस क्लबले लामो बलिदानीबाट प्राप्त उपलब्धी नै संकटमा परेको जनाउँदै यसको निकास दिनका लागि सबैमा आग्रह गरेको अध्यक्ष नरेश के.सी.ले बताए ।
 
मुलुकमा स्थायी सरकार बनेपछि जनतामा तीव्र आर्थिक विकासको अपेक्षा थियो । सोहीअनुसार मुलुक अघि बढिरहेका बेला एकाएक भएको घटना क्रमले अस्थिरता, निरासता र जनभावनामा ठेस पुगेको प्रेस क्लबको निचोड छ । 

क्लबका महासचिव कमल रायमाझीले हजारौं सहीदको योगदानमा असर पुग्ने गरी मुलुकमा भइरहेको विकसित घटनाक्रमले सबैमा नैराश्यता छाएको बताउँदै यसको तत्काल निराकरण गर्नुपर्ने बताए । ।

प्रेस क्लबको बैठकले स्थिर सरकार गठन भएपछि सबै क्षेत्रमा उल्लास छाएको र एकाएक भएको संसद विघटनले फेरि मुलुक कता जान्छ भन्ने चिन्ता बढाएको जनाएको छ । क्लबले लामो समय मुलुकमा स्थिरता नहुँदा मुलुक निकै पछि परेको जनाउँदै पछिल्लो समय विकासले फड्को मारिरहेका बेला पुनः मुलुक अस्थिरतातर्फ जानु कसैका लागि पनि राम्रो संकेत नभएको जनाएको छ । मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता अपरिहार्य रहेको प्रेस क्लबको निष्कर्ष रहेको क्लबका सचिव शंकर पाण्डेले बताए ।