२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमले मुलुक र लोकतन्त्र नै धरापमा : प्रदेशसभा सांसदहरु

सोमवार , पौष ६, २०७७

बुटवल, ६ पुस । 
प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमले मुलुक र लोकतन्त्र नै धरापमा पारेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले संविधानविपरीत ओलीले संसद विघटन गरेको आरोप लगाए ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक सन्तोष कुमार पाण्डेयले सरकार र राष्ट्रपतिको कदम असंवैधानिक भएको जिकिर गरे । प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउँदै उनले केन्द्रीय राजनीतिबाट प्रदेशमा पर्ने प्रभावहरुका बारेमा चिन्ता नगर्न आग्रह गर्दै प्रदेशको नेतृत्वका लागि अन्य दल तयार र सक्षम रहेको दावी गरे ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले आगामी वैशाखमा निर्वाचन हुनै नसक्ने बताए । वर्तमान अवस्थामा मुलुकलाई निर्वाचनमा लैजान सक्ने अवस्था नरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु पार्टी मात्रै नभइ मुलुककै बर्बादी भएको बताए ।  प्रधानमन्त्रीले इतिहासकै ठूलो भूल गरेको उनले उल्लेख गरे ।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले विश्वव्यापी कोरोना महामारीका बेला सरकारले चालेको कदम अलोकतान्त्रिक र तानाशाही भएको उल्लेख गरे । ओलीको कदमले मुलुक र लोकतन्त्र धरापमा परेको बताउँदै उनले संसद विघटन गर्नु असंवैधानिक भएको बताए । नेकपाकै अर्का सांसद तुलाराम घर्तीले केन्द्रीय राजनीतिमा देखा परेका घटनाहरुको तरङ्ग प्रदेशमा पनि देखिनु स्वाभाविक भएको बताए । केन्द्रको राजनीतिक समीकरणले प्रदेश सरकारको समीकरण पनि बदलिन सक्ने संकेत गर्दै उनले प्रधानमन्त्रीको कमदप्रति आलोचना समेत गरे । प्रधानमन्त्रीको कदम र राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा छिटो सोचेर टुंगाउनुपर्ने बताए  । अब क्षमा दिन नसकिने उनको तर्क छ ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले प्रधानमन्त्रीले पहिलेदेखि नै अधिनायकवादी शैली अपनाउँदै आएको बताउँदै र अहिले संसद विघटन गरेको आरोप लगाए । मुलुक कोभिड–१९ को मारमा परिरहेका बेला आगामी वैशाखमा हुने भनिएको निर्वाचनको परिकल्पना समेत गर्न नसकिने उनको भनाइ छ । प्रधानमन्त्रीको स्वेच्छाचारिता र दमनकारी नीतिका कारण मुलुक ठूलो दुर्घटनामा जाने संकेत गरेको उनले बताए । त्यसै गरी नेपाल बार काउन्सिलका केन्द्रिय पार्षद बाबुराम पाण्डेले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्न कुनै अधिकार नदिएको बताए । उनले संविधानको खिल्ली उडाउनु दुर्भाग्यपूर्ण रहेको बताए । प्रधानमन्त्री र राष्ट्रपतिले चालेका गलत कदमलाई सर्वोच्च अदालतले रोक्ने आशा रहेको बताए ।

क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कपिल ज्ञवालीले गरेका थिए ।