मंगलवार, माघ १७ गते २०७९
Logo

मंगलवार, माघ १७ गते २०७९

images

बुमालाई भैरहवाले दिएको खुसी 

बुमालाई भैरहवाले दिएको खुसी 

images
images

सिता काफ्ले

१६, मंसिर २०७९
  • 7.9K
    SHARES
  • बुमालाई भैरहवाले दिएको खुसी 

    भैरहवा। भैरहवाको कालिकास्थानको पश्चिमतर्फको बाटोमा एउटा बुटिक पसल छ। हेर्दा सानो देखिने उक्त पसलभित्र पस्दा सधैजसो भीडले खचाखच हुन्छ। पसलमा कपडामा बुटिक तथा कपडा सिलाउन दिनेहरुको आउने जाने क्रम निरन्तर चलिरहन्छ। पसलकी प्रोप्राराईटर आफ्नो काम निरन्तर रुपमा गरिरहेकी हुन्छन्।

    कामप्रतिको लगाव र आफ्ना ग्राहकप्रतिको जिम्मेवारीकाबीच पसलकी प्रोप्राईटर बिमला गुरुङ (बुमा) हसिलो र फुर्तिलो मुहारका साथ काममा तल्लिन छिन्। पसलमा हुँदा उनका हातहरु निरन्तर काममा तल्लिन हुन्छन्। पसलमा जतिसुकै व्यस्त भए पनि उनको मुहारमा भने सधै मुस्कान र चमक देखिन्छ। हसिलो मुहारले सबैलाई स्वागत गर्ने बुमाको अनुभव र जीवनको भोगाइ भने निकै संर्घषशिल छ।

    बुमाले आफ्ना अनुभव र जीवनका भोगाई सुनाउँदा पसलमा आउने जो कोही पनि छक्क पर्छन्। उनको हाँसोमा जति खुसी देखिन्छ, उनको जीवनको यात्रा भने उत्तिकै संर्घषशील र कष्टपूर्ण छ ।
    मकवानपूर जिल्लाको तत्कालिन टिष्टुङ गाविस हाल थाहा नगरपालिकामा जन्मेकी बुमा घरकी सातौ सन्तानमध्येकी कान्छी छोरी हुन्। उनको बाल्यकाल र कक्षा ८ सम्मको शिक्षा गाउँकै स्कूलमा भयो। ८ भन्दामाथि पढ्नको लागि भने कि काठमाडौं जानुपर्ने कि हेटौडा आउनुपर्ने थियो। थप शिक्षाको लागि उनी हेटौंडा आइन्।

    कृषि पेशा गर्दै आएका बुवा र स्वयंसेविकाको रुपमा रहेकी आमाले छोराछोरीलाई उच्च शिक्षा पढाउने योजनाअनुसार उनी उच्च शिक्षा पढ्न हेटौडा झरेको बताउछिन्। छोरीलाई धेरै पढाउन हुँदैन भन्ने केही गाउँलेको मानसिकताका बाबजुत उनी सहित ४ दिदी बहिनी उच्च शिक्षा पढ्न शहर झरेपछि त्यति बेला गाउँमा धेरैले कुरा पनि काटे उनीहरुको बिषयमा।

    ‘मकवानपुर जिल्ला भन्नेबित्तिकै आलु खेतीको अब्बल ठाउँको रुपमा चिनिन्छ। हामीहरुको घरमा पनि आलु र तरकारीहरुबाट राम्रो आम्दानी हुन्थ्यो। आलु बेचेको पैसाले बाबाले हेटौंडामा ३ कोठे घर किन्नु भएको रहेछ। पछि ९ कक्षादेखिको पढाई हामी चारजना छोरीहरु हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयबाट एसएलसी पास गर्यौं, त्यतिबेला एकदमै थोरै एसएलसी पास हुन्थे,’ उनले भनिन्। गाउँमा एसएलसी पास गर्नेमध्ये उनको घर सातौ स्थानमा थियो।

    उनले भनिन्, ‘हेटौडा आफ्नै घर भएर पनि चार जना दिदीबहिनी एउटा कोठामा बस्ने बाँकी दुई कोठा भाडा लगाएका थिए, भाडाको पैसा ४०० आउँथ्यो, त्यही पैसाबाट पढाइ शुल्क (फी) किताबकापी र चामल किन्ने गरेका थियौं, तरकारी, दाल, घ्यू तेल घरबाट आउने गर्दथ्यो, उनले भनिन्।

    ‘पढेर मात्र पनि हुँदैन जबसम्म आफ्नो हातमा सीप हुँदैन तबसम्म मान्छे नुन बिनाको तरकारी जस्तै हुन्छ, आमाले सानो छदा भनेको कुरा सम्झदै उनले भनीन जब एसएलसी दिएको भोलिपल्टैबाट सिलाईकटाई सिक्न लागे त्यसपछि परिवारमा एक प्रकारको खुसी आयो। सिलाइ सिक्दै गर्दाका दिन सम्झदै उनी भन्छिन् ‘हेटौडाका ठूला ठूला नेवार समुदायका छोरीहरु नयाँ लुगा लिएर सिलाई सिक्न आउने गर्दथे तर हामीले भने पुरानो तन्ना काटेर सिलाई कटाई सिकेका थियौं।

    butik 1.jpg
    बिमला गुरुङ्ग (बुमा)

    ‘आमाले हामीलाई सिकाईको लागि पठाएको लुगा निकाल्नै लाज लाग्थ्यो, तर हामीले कुनै लाज नमानेर सिक्दै गयौं, आज त्यही पुराना तन्नको सिकाईले नै मेरो जीवनमा आमूल परिवर्तन ल्याएको छ।’ बुमाले भनिन्, ‘यो प्रेरणा मेरी आमाले मलाई दिनुभएको हो आज म जहाँ जुन अवस्थामा छु त्यो सबै प्रेरणा म मेरी आमालाई दिन चाहन्छु।

    आमाले कानमा लगाएको मडवरी बेचेर छोरीहरुलाई उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौ पठाएको उनको भनाई छ। त्यतीबेला आमाले १०–१० हजार रुपैया हातमा हाल्दिदै अब यही पैसाले आफ्नो खुट्टामा उभिन आग्रह गर्नुभयो, आमाको आग्रह अनुसार १० हजार रुपैयाँ बोकेर उच्च शिक्षाको लागि म काठमाडौं लागे।  सबैले देख्ने ठूला ठूला सपनाको सहर काठमाडौंमा पुगे, पदम्कन्या क्याम्पसमा अध्ययन गदै कम्प्यूटर पनि सिके, स्कुलमा पढाउन थाले तर जागिर गरेर आत्मसन्तुष्ट भएन उनले भनीन।

    जागिरमा खासै सन्तुष्टि नमिले पछि २०६० सालमा ६ महिना फेरी थप डे«स डिजाइन सिके र आफ्नै सीपबाट अगाडि बढ्ने आत्मविश्वासका साथ काठमाडौं भीमसेन स्थानमा बुटिक पसल खोले, बुमा भन्छिन् यता दिनभरी बुटीक चलाउने गर्थ्यौ भने अर्को ठाउँमा भाइ र म भएर साइबर खोलेका थियौं त्यती बेला जीवन एउटा लयमा चले जस्तो लाग्थ्यो।  जीवन सोचे जस्तो चलिरहेको थियो। आफू मात्रै नभइ आफन्तहरुको लागि पनि धेरै सहयोग गरे।

    जीवनमा दुःख सुख साट्ने एउटा जीवन साथीको आवश्यकता हँुदो रहेछ। २०६८ सालमा विवाह गरे शान्ति सेनामा कार्यरत सिपाहीसँग। श्रीमान् शान्ति सेना हाईटीमा, म काठमाडौं भीमसेनमा आफ्नो व्यवसाय चलाउँदै गरे। बदलिदो प्रविधिका कारण थुप्रै लगानी लगाएको साईबर बन्द भयो। त्यसबाट धेरै लगानी डुब्यो।

    आफन्तहरु भनेका खान पाउञ्जेल मात्र आफ्नो हुने रहेछन्, उनले भनिन्, ‘दुःख परेको बेला सहयोग माग्न जाँदा मेरो दैलोमा नआइज भन्ने समेत भेट्टिए। काठमाण्डौको भीमसेन चोकदेखि इन्द«चोकसम्म बुमा बुटिक भनेपछि सबैले चिन्ने बेलामा समेत जब म समस्यामा परे तब मलाई चिन्ने एकजना पनि भएनन्। आफन्ती र इष्टमित्रको समेत सहयोग नपाएपछि उनी काठमाण्डौको बिरानो शहरमा एक्लै भौतारीनुबाहेक विहकल्प थिएन उनले बिगत सम्झदै भनीन्। जब जीवनमा अप्ठ्यारो परीस्थीति आउँछ। तब साथ दिने कोही हुँदैन रहेछ।

    ठूलाठूला सपना बोकेर काठमाडौंलाई कर्म क्षेत्र बनाउने संकल्प बोकेर शहर छिरेकी उनलाई २०७२ सालको भूकम्पले ढलाएका घरहरुसँगै सारा मिहिनेत र सपना पनि ढल्यो, उनले भनिन् काठमाण्डौंमा व्यापार व्यवसाय गर्न नसक्ने अबस्था आएपछि श्रीमान् काखमा २ वर्षको छोरो साथमा लिएर काठमाडौंले लगाइदिएको २० लाखको ऋणको भारी बोकी एक अन्जान सहर भैरहवा छिरे।’

    श्रीमान्को भैरहवा सरुवा भयो, हामी आमा छोरा पनि भैरहवा नै बस्ने कुरा भयो। भैरहवामा एउटा कोठा खोजेर बस्न थाल्यौ। काठमाडौंबाट भैरहवा आउदा अरुसंग भाडा मागेर भैरहवा आएकी उनलाई ज्यान बचाउनका लागि निकै समस्या पनि प¥यो । उनले बिगतलाई सम्झदै भनीन भैरहवा आएपछि पनि म कति दिन त भोकै आसु मात्र पिएर बसे, तरपनि मेरा आफन्त, घर परिवार, माइती, दिदीबहिनी दाजुभाइ, साथीसर्कल कसैले पनि मलाई ज्युँदो छकी मर्‍यो भनेर समेत खोजी गरेनन्।

    butik .jpg

    उनले आफ्नो जीवनमा यसरी कालो ग्रहण लाग्ला भनेर कहिल्यै सोचेकी थिईनन्। जीवन जिउनका लागि उनी काखमा दुधे बालक च्यापेर भैरहवाको गल्ली गल्ली काम खोज्न भौतारिदै हिडिन। तर, कहिल्यै जीवनबाट थाकिनन्। आफ्नो मान्छे भन्ने कोही नभएको ठाउँ, श्रीमान् क्याम्पबाट बाहिर आउन नपाउने, कोठामा खानाको लागि एक दाना चामल थिएन, किनेर खाने गोजीमा दाम थिएन । जानेर दिने कोही थिएन। लाग्थ्यो भगवानले मेरो परीक्षा लिदैछन्। दिदी बहिनीसँग सहयोगको लागि फोन गरे भने मेरो फोन उठाउनेबित्तिकै पैसा छैन् भनिदिन्थे। जीवनमा दुःख गर्ने मान्छेले हार नमानेपछि भगवानले पनि साथ दिने रहेछन्।

    आफू र बच्चालाई बचाउन छोरालाई च्यापेर सुनौलीबाट तेल चिनी ओसार्न पनि पछि हटिनन्। उनले सुनौलीबाट ल्याएको सामान भैरहवाको बुद्ध किरानामा दिने र आफूलाई चाहिने सामान त्यहीबाट लिन थालिन। जमानामा बी.ए. पास गरेकी उनलाई एउटा अशिक्षित मानीसले जस्तो जीवन बिताउँदा सारै पीडा हुन्थ्यो। बाटो हिड्दा कसैले १० हजारको जागिर दिए पनि कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो।

    आफु र आफ्नो परिवार चलाउनका लागि १८ महिनाको छोरोलाई कोठामा सुताएर अरुको घरमा झाडु पोछा लगाउने काम पनि गरे उनले भनीन ५० रुपैयाँले १८ दिनसम्म पनि गुजारा चलाएको नमीठा भोगाइ छ।

    छोरो भोकाएर रुदा पानीमा बिस्कुट चोबेर खुवाएका दिन उनको दिमागमा ताजै छन्। नेपाली सेनामा कार्यरत बुढाले छुट्टी नपाउने हुँदा दुःखसुख बिसाउने कुनै ठाउँ थिएन्। त्यही बेला छोरा बिरामी भयो, एक हप्तासम्म मेडिकल कलेज छोराको उपचारमा बस्दा हेरिदिने कोही भएनन्। बुढालाई फोन ग¥यो फोन उठ्दैन, साथमा औषधी किन्ने पैसा छैन, असारको महिना प्रचण्ड गर्मी एउटै लुगामा एक हप्ता बिताउँदा ममाथि के बितिरहेको थियो।

    जीवनमा कोही न कोही भगवानको रुपमा आउछँन् भनेर सुनेकी थिए, मेरो जीवनमा पनि बैंक रोडको गोकुल एण्ड सुजित कपडा पसलको बुवा भगवान बनेर आउनुभयो। घुम्दै जाँदा बुवाको पसलमा पुगे। बुवासँग कुरा गर्ने सिलसिलामा मैले पनि लुगा सिलाउँछु भने, बुवाले चौबन्दी सिलाउँछौ भनेर सोध्नुभयो मैले हुन्छ भने। उहाँले चौबन्दी सिलाएर देखाउ भन्दानै मेरो खुसीको कुनै सीमा रहेन। जुन दिन म त्यो पसलको बुवासँग भेट भयो। मेरो जीवनले एउटा सुनौलो मोड लियो। आज म जहाँ छु जुनस्तरमा छु तो सबै गोकुल एण्ड सुजित कपडा पसलको बुवाले गर्दा छु। आज पनि म बुवालाई धेरै सम्झिरहन्छु।

    बुवाले पठाएका लुगा सिलाउँदै गर्दा ग्राहक, साथीसर्कल बढ्दै गए। आम्दानी पनि हुन लाग्यो। पछि आफू बस्ने एउटा कोठामा एकातिर खाने सुत्ने ठाउ र बीचमा पर्दा लगाएर अर्को तर्फ एउटा मेसिन राखेर कोठामै लुगा सिलाउन थाले। संघर्ष गर्ने हातहरु नथाके पछि जीवनले सार्थकता पाउने रहेछ उनले भनीन।

    विस्तारै मेरो व्यवसाय बढ्दै गयो, चौबन्दी चोलो संगै विभिन्न संस्कृतिका लुगाहरु पनि सिलाउन थाले। त्यसपछि जाने बुझेका र थाहा पाउनुभएका ग्राहकहरु मेरोमा आउन लाग्नुभयो। काम बढ्दै गएपछि एउटा कोठा साँघुरो हुन थाल्यो। पछि एउटा सटर भाडामा लिएर चलाउन थाले, व्यवसाय विस्तारै बढ्दै गयो, विभिन्न प्रकारका डिजाइनका लुगाहरु सिलाउने क्रममा ठूलाठूला होटल–बार स्कूलहरुमा मैले सिलाएका लुगा जान लागे। अहिले भैरहवाका अधिकांश दिदीबहिनीहरु मेरो बुटिकमा आउन थाल्नुभयो। भैरहवामात्रै होईन बुटवल, कपिलवस्तु तिरबाट पनि मेरोमा कपडा सिलाउन आउनुहुन्छ। 
    त्यतीमात्रै होईन अहिले उनको पसलमा विदेशमा बस्ने उनका साथीहरुले पनि उनले डिजाइन गरेका लुगा मन पराएर मगाउने गरेका छन्। जापानको कान्तिपुर जेपि सपमा समेत उनका उत्पादनहरु पुगेका छन्। जापान पुर्याउन सहयोग गर्ने साथीहरु राज र नरेन्द्र सापकोटालाई म धेरै सम्झन चाहन्छु उनले भनीन् आज म यो  स्थानमा हुनु उहाँहरुको सहयोगले गर्दा नै हो।

    उनको पसलमा १२ जना कर्मचारीहरुले काम गरिरहेका छन्। डिजाइन सिक्न पनि उत्तिकै आउने गर्दछन्। काठमाडौंले लगाएको २० लाखको ऋणको भारी विसाएर आफ्नो परिवार बस्ने एउटा घर समेत बनाएकी छन्। उनको कामलाई उनका श्रीमान शुकबहादुर गुरुङले साथ दिईरहेका छन्।

    काम गरेर थाकेर घर पुग्दा मलाई स्वर्गमा पुगेको जस्तो हुन्छ बुमा भन्छिन् पेटभरी खान पुग्ने बनाएकी छु, मानिसको जीवनमा कुन बेला यस्तो परिस्थिति आउँछ भन्ने कुनै थाहा नहुने रहेछ। ठूलाठूला शहर र ठूला सपनाले जीवनमा नमेटिने चोट दिएर जाने रहेछ। मानिस भएर जन्मलिएपछि एक साधारण जीवन जिउनपर्ने रहेछ। यो मैले मेरो जीवनमा भोगेको यर्थात हो। 

    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०७९ शुक्रवार - १५:३०:५८ बजे

    सिता काफ्ले

    सिता काफ्ले खबरपात्रो डटकमका संबाददाता हुन्।


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend