२०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

‘गन्तव्य विवाह’ कार्यक्रमको नाममा धरौटीमा भित्रिने सामग्रीको प्रभावकारी अनुगमन गर्न माग

आइतवार , जेठ ३१, २०८३

  • 250
    Shares
  • 250
    Shares
  • भैरहवा, ३१ जेठ । ‘गन्तव्य विवाह’ कार्यक्रमको नाममा धरौटीमा भारतबाट भित्रिने सामग्रीको प्रभावकारी अनुगमन र नियन्त्रण गर्न व्यवसायीले माग राखेका छन् । उनीहरुले नेपाली व्यवसायीलाई सहज व्यवसायिक वातावरण बनाउन समेत माग गरेका हुन् ।

    रुपन्देही इभेन्टस् व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाउँदै स्थानीय व्यवसायीहरुको हित संरक्षण गर्न तथा व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री सहजरुपमा आयात गर्ने वातावरण निर्माणका लागि आवश्यक पहल गर्न माग राखेको छ ।

    संघका अध्यक्ष किरण कुमार श्रेष्ठले गन्तव्य विवाह (डेस्टीनेशन वेडिङ) कार्यक्रमको नाममा भारतीय व्यवसायीहरुले सुनौली नाका हुँदै टेण्ट, लाइट, साउण्ड, फर्निचर लगायतका सामग्री न्यून धरौटीमा नेपाल भित्र्याइ व्यवसाय सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले यसप्रकारले भारतबाट भित्रिने सामग्रीका कारण नेपालमा विधिवत् दर्ता भइ कर तिर्दै आएका व्यवसायीहरु प्रत्यक्ष रुपमा प्रभावित भएको गुनासो गर्नुभयो ।

    नेपाली व्यवसायीहरुले राज्यलाई नियमित राजस्व बुझाउँदै व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा भारतीय व्यवसायीहरुलाई सहजरुपमा व्यवसाय गर्न दिइदा स्थानीय व्यवसायी प्रतिष्पर्धामा पनि पछाडि पर्न बाध्य भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘अर्कोतर्फ हामी नेपाली व्यवसायीहरुले आफ्नो व्यवसायका लागि भारतीय बजारबाट खरीद गरी ल्याउने कपडा, फूल लगायतका सामग्री भित्र्याउन विभिन्न प्रशासनिक तथा प्रक्रियागत कठिनाइहरु भोग्नुपरेको छ, ’उहाँले भन्नुभयो । स्वदेशी व्यवसायको प्रवद्र्धन हुन सके मात्र मुलुकको आर्थिक विकास र समृद्धि सम्भव रहेको उहाँको भनाइ छ ।