२०८३, कार्तिक ११ गते

Oct 28 2026 | २०८३, कार्तिक ११ गते

रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन् : सांसद खरेल

बुधवार , कार्तिक ११, २०८३

  • 172
    Shares
  • 172
    Shares
  • काठमाडौँ, ११ कार्तिक । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित नभएको बताउनुभएको छ । 

    बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै सांसदका गतिविधि व्यक्ति विशेषको नियन्त्रणमा नरहेको स्पष्ट पार्नुभएको हो । प्रत्येक सांसद आ–आफ्नो क्षमता, विवेक र बलबुताका आधारमा अघि बढिरहेको उहाँको भनाइ छ । सत्तारुढ दलका सांसदहरुले नै सरकारको आलोचना गरेको विषयप्रति उहाँले सरकारलाई सुझाव दिनु तथा भएका कमजोरी सुधार्न दबाब दिनु सरकार ढाल्ने प्रयासका रुपमा बुझ्न नहुने उहाँको भनाइ छ । उहाँले मुलुकको विकास हेर्ने चाहना राख्ने दलहरुले सरकार ढाल्ने गतिविधिमा लाग्नुभन्दा सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले प्रतिपक्षी दलहरुले तिहार र छठपछि आन्दोलन गरेर सरकार ढाल्ने भन्दै सार्वजनिक रुपमा दिएका अभिव्यक्तिप्रति आपत्ति समेत जनाउनुभयो । सरकार पाँच वर्ष चलाउन जनताले झन्डै दुई तिहाइ मतसहित रास्वपालाई मत दिएको भन्दै  कसैले चाहाना राख्दैमा सरकार नढल्ने उहाँको दाबी छ ।

    उहाँले भन्नुभयो, ‘सरकारलाई सबै कुरा थाहा हुँदैन । सरकारसमक्ष केही कुरा पुर्याउनको लागि सत्तापक्षका सांसदहरुले पनि प्रतिपक्ष जसरी प्रश्तुत हुनुपर्छ । हामी सत्तापक्षका सांसदहरु त्यसैगरी बोलेको तपाईंहरुले देख्नुभएको छ नि ? त्यसकारण कुनै एक जनाको निर्देशनबाट पार्टीका सबैं सांसदहरु लागेका छैनन् । सबै आआफ्नो क्षमाता र  बलबुतामा नै अगाडि बढिरहेका छन् । केही नेताहरुले सरकार आफैं फुटेर ढल्छ भन्ने कुरा गरेको पनि सुनिन्छ । यस्तो हुने कुनै सम्भावना छैन ।

    पुराना पुस्ताका नेताहरुभन्दा बढी भोग्नुपर्ने त हामीहरुले छ नि ।  यो देश बन्यो भने दाईहरुलेभन्दा बढी मैले भोग्ने हो क्या । यदि मुलुकको विकास हेर्ने रहर छ भने हामी सरकार ढाल्न लाग्छौँ त ? सबैलाई झन मिलाएर लैजान्छौँ । गल्ती भएको कुरा सुधारेर लैजान्छौँ । कहिलेकाँही गल्ती भएको कुरा त सरकारले स्वीकारेको छ नि । हामीलाई जनताले पाँच वर्ष ढुक्कले सरकार चलाउ भनेर झन्डै दुई तिहाई मत दिएर पठाएको छ नि । त्यसकारण तिहार, छठपछि आन्दोलन गरेर सरकार ढालिदिन्छौँ भन्ने कुरामा मलाई चाँही विश्वास लाग्दैन । सरकार ढले हामी सत्तामा पुग्नसक्थ्यौँ भनेर उहाँहरुले कल्पना गर्ने कुरा स्वभाविक हो । तर हामीले देश चलाउनको लागि राजनीति गरेका हौँ सांसद र मन्त्री बन्नको लागि मात्र होइन ।’

    उहाँले पार्टीभित्र विमति राख्ने र असन्तुष्ट पक्षलाई समेत समेटेर लैजान आफूहरु प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।