२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद फैसला

शुक्रवार , पौष ३, २०७७

डोटी, ३ पुस । 
सुदुरपश्चिम प्रदेश, उच्च अदालत दिपायल राजपुरले जनता समाजवादी पार्टी नेपालका सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैदको फैसला सुनाएको छ । ८ जनाको ज्यान जाने गरी वि.सं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीकै निर्णय सदर गरेको हो । 

बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरी र थारुसहित अन्य ७ जनाको हकमा जन्मकैदको सजाय हुने भन्ने यसअघि जिल्ला अदालत कैलालीले गरेको आदेश सदर गरेको हो । 

जिल्ला अदालतले गरेका उक्त आदेश बमोजिम सांसद चौधरी थुनामै रहेका छन भने यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला अदालतले धरौटीमा छाडेको थियो । टिकापुरमा थरूहटको माग गर्दै निकालिएको जुलुसको नेतृत्व चौधरी र थारुले गरेको तथा जुलुसले आक्रमण गरी प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने तथा सात प्रहरी र एक नाबालक शिशुको ज्यान लिएको थियो ।  

उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले टीकापुर घटनामा दोषी देखिएका सांसद चौधरी तथा अर्का नेता थारूलाई जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै फैसला सदर हुने भन्दै जन्मकैदको फैसला सुनाएको हो । 

फैसलामा भनिएको छ,–प्रतिवादीहरुमध्ये रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी समेत जना सातको हकमा मुलुकी ऐन ज्यानसम्बन्धीको महलको १ नं को कसुरमा सोही महलको १३ (घ) नं बमोजिम जन्मकैद हुने र सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा जनही ५ वर्ष कैद सजाय समेत हुने ठह¥याई भएको सुरु कैलाली जिल्ला अदालतको मिति २०७५ फागुन २२ गतेको फैसला मिलेको देखिँदा सोही बमोजिम सदर हुने ठहर्छ ।

मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जिल्ला अदालत कैलालीले प्रतिनिधिसभा सदस्य चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि जिल्ला अदालतको उक्त आदेशविरुद्ध सांसद चौधरी उच्च अदालत दिपायल राजपुर पुनरावेदन गर्न पुगेका थिए । 

उच्च अदालत दिपायल राजपुरमा पुनरावेदन गरे पनि सांसद चौधरीलाई सफाइ दिन उच्च अदालतले अस्वीकार गरेको उच्च अदालत दिपायलका निमित्त रजिस्ट्रार सीता रेग्मीले जानकारी दिए । चौधरीलाई थुनामै रहेको समयमा वि.सं २०७५ पुस १९ गते प्रतिनिधिसभाको सांसद पदको शपथ ग्रहण गराइएको थियो ।