
बिहिवार , पौष २, २०७७
भैरहवा, २ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको कोणबाट हेर्दा राष्ट्रिय स्वाधिनतामाथि गम्भिर प्रकारका समस्या पैदा भएको बताएका छन् । उनले प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने चुनौती रहेकोले त्यसलाई सामना गर्नुपर्ने बताए ।
बिहीबार बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै गुरुङले अहिले देखिएका समस्याहरु लोकतान्त्रिक विधिबाट हल गर्न सकिने बताए । ‘विद्यमान देखा परेका राजनीतिक र वैचारिक समस्याहरु छन, ती समस्या समाधान गर्न नै छलफल, बहस र अन्तरक्रिया चलेका छन्, यसलाई नकारात्मक रुपमा नभइ सकारात्मक रुपमा नै लिनुपर्छ ’ उनले भने ।
मुलुकमा देखा परेका समस्या समाधानका लागि जनता पनि एकताबद्ध भइ अगाडी बढ्नुपर्ने उनको भनाइ थियो । कतिपय विषयहरु पार्टी पंक्तिबाट निकास हुन नसकेको अवस्थामा त्यसबारेमा सार्वजनिक रुपमा छलफल पनि हुने उनले बताए ।
‘अहिलेको बहस भनेकै हामी लोकतान्त्रिक बाटोबाट जान्छौं कि भिन्न मतलाई निषेध गरेर जान्छौं र एकाधिकार सोच/चिन्तनबाट जान्छौं भन्ने हो, ’उनले भने ।
कम्युनिष्ट पार्टी भित्र बहस र छलफल चलिरहने र लोकतान्त्रिक विधिबाट अगाडी बढे छिटो सकारात्मक परिणाम लिने उनले बताए । पूर्वमन्त्री तथा नेकपा स्थायी समिति सदस्य समेत रहेका गुरुङले लोकतान्त्रिक विधिबाट नगएर एक अर्कालाई निषेध गरे त्यसले नकारात्मक परिणाम ल्याउने दावी गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij