
सोमवार , मंसिर २९, २०७७
मनोज कार्की
गुल्मी, २९ मंसिर ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद जीवन परियारले आजभोली देशमा राजसंस्थाको पक्षमा केही सलबलाइरहेको र उनीहरु किन सल्बलाएका हुन् भन्ने जवाफ प्रधानमन्त्री केपी ओलीले दिनुपर्ने बताएका छन् ।
सोमबार नेपाली कांग्रेसलेआयोजना गरेको विरोध प्रर्दशन कार्यक्रमका लागि गुल्मी आएका परियारले यस्तो बताएका हुन् । उनले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रशासनले गरेको दुव्र्यवहारलाई सम्झदै गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रधानमन्त्री ओलीकोे नेतृत्वमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्याल माथि यस्तो हर्कत भएको हुन सक्ने पूर्व सांसद परियारले आरोप लगाएका छन् । नेपाली कांग्रेस सत्ता भन्दा बाहिर भएकाले दुईतिहाईको सरकारले जनताप्रति आफ्नो दम्भ देखाएको हुन सक्ने बताए ।
वर्तमान कम्युनिष्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोभिड–१९ नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्यवृद्धि, महिला हिंसा, कुशासन, अधिनायकवादी शैली र तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको अभद्र व्यवहारविरुद्धमा गुल्मीमा पनि विरोध प्रदर्शन कार्यक्रम गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
विरोध प्रर्दशन कार्यक्रम नेपाली कांग्रेस गुल्मीले गुल्मीका सहिद शम्सेर थापालाई सम्झदै उनको मुर्तिमा अबिरमाला ग्रहण गरी अगाडि बढेको थियो ।
जिल्लामा भएको विरोध प्रर्दशनमा ओली सरकारको उपहार : हत्या हिंसा बलात्कार, तनहुँ घटना सार्वजनिक गर, सत्ता छोड्लास् नेकपा : हिसाब किताब बाँकी छ लगायतका नारा लगाएका थिए ।
नेकपाको सरकारमा दम्भैदम्भ भरिएकाले देशमा दैनिक आफ्नै पार्टीका भ्रष्टाचार काण्डहरु बाहिरहेको, जनताको पक्षमा काम गर्न नसकेको, बलात्कारी लुकाइएको, आर्थिक हिनामना पारेकै कारण आफुहरु विरोध प्रदर्शन गर्न बाध्य भएको नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठले बताए । श्रेष्ठले मुुलुकलाई सर्वसत्ताको नाममा दलदलमा फसेको र जनतालाई सेवा दिन नसक्ने सरकारले हिसाबकिताब बुझाई सत्ता छोड्नुपर्ने बताए ।
विरोध प्रदर्शन कार्यक्रममा २ नगरपालिका र १० गाउँपालिकाका कांग्रेस प्रतिनिधि तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाल विद्यार्थी संघ गुल्मीले आइतबार सांझ नेपाली कांग्रेस गुल्मीको पार्टी कार्यालय बीपी स्मृति भवनदेखि तम्घासबजार मोटरसाइल र्याली गरी परिक्रमा गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij