
बिहिवार , कार्तिक १७, २०७९
भैरहवा, १७ कात्तिक ।
रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा भएको वृहत खुल्ला कुस्ती (दंगल) प्रतियोगितामा भारतीय पहलमानहरुले वर्चस्व जमाएका छन् । मधेश प्रदेशसहित लुम्बिनी प्रदेशकै पहलमानहरुको सहभागीताको रहेको प्रतियोगितामा भारतीय पहलमानहरुले वर्चस्व देखाएका हुन् ।
रोहिणी–३ स्थित धकधईमा मंगलबार र बुधबार भएको प्रतियोगितामा पहलमानसँगै दर्शकको उत्साहजनक उपस्थिति रहेको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । तराई मधेशमा लोकप्रिय कुस्तीको संरक्षण र युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाबाट पाँच लाख बजेट विनियोजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष यादवले जानकारी दिए । कुस्ती प्रतियोगितामार्फत स्थानीय पहलमानहरु उत्पादन गर्ने उद्देश्य समेत रहेको उनले बताए । आगामी दिनमा पनि कुस्ती प्रतियोगितालाई निरन्तरता दिने उनको भनाइ छ ।
प्रतियोगितामा भारत दिल्लीका विनोद पहलमान प्रथम भएका छन् । उनले भारतकै पठानकोटका बब्बी पहलमानलाई पराजित गर्दै प्रथम भएका हुन् । त्यस्तै भारत गोरखपुरका जितेन्द्र पहलमान दोस्रो भएका छन् । जितेन्द्रले भारत हरियाणाका भीम पहलमानलाई पराजित गरेका थिए । प्रतियोगितामा भारतकै हरियाणाका मुन्ना पहलमान तेस्रो भएका छन् । मुन्नाले हरियाणाकै गोपी पहलमानलाई हराएका थिए । प्रतियोगितामा भारत पनियराका गुड्डु पहलमानले सान्त्वना स्थान हासिल गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १ हजार १ सय ११, दोस्रो हुनेलाई रु. ५० हजार ५ सय ५५, तेस्रोलाई रु. २५ हजार २ सय २५ र सान्त्वना हुनेलाई रु. १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले बताए । त्यस्तै निर्णायकको निर्णयअनुसार पहलमानहरुलाई प्रोत्साहनवापत साइकल र टेलिभिजन प्रदान गरिएको क्षेत्रीले जानकारी दिए ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानका पहलमानहरुको सहभागिता रहेको गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले कुस्तीसहित अन्य खेलको संरक्षणका लागि बजेट बिनियोजन गरेको बताए । उनले आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए । उनले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका अघि बढेको छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij