
शनिवार , मंसिर २७, २०७७
तिलोत्तमा, मंसिर २७ । तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा आएको हो ।
नगरपालिकाले स्थानीय पाठ्यक्रमको बारेमा विषय शिक्षकहरुलाई प्रबोधिकरण समेत गराएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उपसचिव गंगाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए। तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु छन् ।
पहिलो चरणमा कक्षा १ देखि ५ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो । दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ । पाठ्यक्रममा नगरको भुगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक संघ–संस्थालगायतका विषय समेटिएको छ ।
स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहेकोले यो विद्यार्थीका लागि रुचीकर रहने पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसालले बताए। स्थानीय पाठ्यक्रममा सरसफाईसँग सम्बन्धित ‘मेरो खल्ती : मेरो पहिलो डष्टबिन’ को अवधारणलाई पनि समेटिएको छ । पूर्णसरसफाई उन्मूख तिलोत्तमा नगरपालिकाले सरसफाईको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नैं दिनेगरी त्यसलाई पाठ्यक्रममा समेटको हो ।
चकलेट, जंकफूडलगायतका खोल जहाँ पायो त्यहीँ नफ्याँकी आफ्नै खल्तीमा राख्ने र पछि उचित ठाउँमा व्यवस्थापन गर्ने अबधारणा ‘मेरो खल्ती : मेरो पहिलो डष्टबिन’ को रहेको छ । यो अवधारणाको व्यवहारिक कार्यान्वयनले सरसफाईमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकोमा तिलोत्तमाले त्यसको अभ्यास गरेको हो ।
विद्यालयहरुले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतको सुझावको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरेको हो ।
समितिले विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रियापछि प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई अन्तिम रुप दिएको संयोजक भुसालले बताए। पाठ्यक्रम निर्माण समितिका सदस्यहरुमा टंकप्रसाद पौडेल, खेमराज पाण्डे, रमेश ज्ञवाली र सदस्य सचिव शारदा भट्टराई रहेका छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij