
शुक्रवार , मंसिर २६, २०७७
बुटवल, २६ मंसिर ।
रुपन्देहीको तिलोत्तमामा आगामी आइतबारदेखि प्रथम वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिले वडास्तरीय भलिबल प्रतियोगिता गर्न लागेको हो ।
मंसिर २८, २९ र ३० गते सञ्चालन हुने उक्त प्रतियोगितामा नगर भित्रका १७ मध्ये १० वटा वडाबाट एक–एक टिमले सहभागीता जनाउने नगर खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङले जानकारी गराए । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार तथा तेस्रो हुने टिमले २० हजार नगद पुरस्कार प्राप्त गर्ने गुरुङले बताए ।
पाँच लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको समापनमा बेस्ट प्लेयर, बेस्टर सेटर, बेस्टर ब्लकर, बेस्ट स्पाइकर, बेस्ट सर्भर तथा अनुशासित खेलाडीलाई सम्मान गरिने गुरुङले बताए । नगरपालिकाकी कार्यवाहक प्रमुख जागेश्वरीदेवी चौधरीले तिलोत्तमा नगरपालिकाले वडास्तरबाटै खेलाडी उत्पादन र खेलकुदको विकासका लागि चालु आर्थिक वर्षमा विभिन्न खेलकुद प्रतियोगिताका लागि ५० लाख रुपैया वजेट छुट्टाइएको बताइन् ।
चालु आर्थिक वर्षको पुषमा मेयरकप ब्याडमिन्टन,विद्यालयस्तरीय छात्र–छात्रा भलिबल र उपमेयर खुल्ला महिला भलिबल, माघमा मेयर कप रनिङ शिल्ड फुटबल र विद्यालयस्तरीय फुटबल तथा चैतमा विद्यालय तथा वडास्तरीय क्रिकेट र ग्रासरुट फुटबल तालिम हुने नगरका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij